८ चैत्र, विराटनगर ।


जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा दिनको ६ घण्टा निर्वाध आवागमन गर्न पाउने कर्फ्यु जारी राख्ने निर्णय गरेको छ ।
अनिश्चितकालीन कर्फ्यु केही परिवर्तन गर्दै मङ्गलबार बसेको बैठकको निर्णय बमोजिम मोरङ प्रशासनले दिनको ६ घण्टा निर्वाध आवागमन गर्न पाउने कर्फ्यु जारी राख्ने निर्णय गरेको हो ।

निश्चित समयसीमा तोकेर कफ्र्यू जारी राख्ने निर्णय गरिएको मोरङ प्रशासनले जनाएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को क बमोजिम चैत्र ९ गते बुधबारदेखि अर्को आदेश नभएसम्म बिहान १० बजेदेखि दिनको ४ बजेसम्म र बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी उल्लेख गरिएको जनाएको छ ।
नयाँ निर्णय अनुसार अब बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा र दिनको ४ बजेदेखि बेलुकी ६ बजेसम्म २ घण्टा सर्वसाधारणले निर्वाध आउजाउ गर्न पाउनेछन् । आइतबार मोरङको लेटाङमा एक सामुदायिक विद्यालयका शिक्षकले १२ वर्षीया छात्रालाई दुर्व्यवहार गर्दा उत्पन्न परिस्थितिका कारण एसपी सहित २८ जना घाईते र १ जना प्रहरी जवानको ज्यान गएपछि सोमबारदेखि लागू हुने गरि मोरङ प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको थियो ।












