३, जेठ राजविराज । नेकपा एकीकृत समाजवादीका सप्तरीका मोर्चा सङ्गठनहरूले भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।


नेकपा एकीकृत समाजवादीका सप्तरी जिल्ला अध्यक्ष प्रताप नारायण चौधरीको नेतृत्वमा पार्टी कार्यालयबाट निस्केको जुलुसले जिल्ला प्रशासन कार्यालय सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी आचार्य पराजुली मार्फत बुधबार सो ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्रमा त्यस्ता कार्यमा संलग्न सबै अपराधीहरूलाई गिरफ्तार गरि हदैसम्मको कानुनी कारवाहीको माग गर्दै दोषीलाई कुनै पनि बहानामा दोषमुक्त नबनाउन वा मुद्दालाई कमजोर तथा निष्प्रभावी नपार्न राजनीतिक दल र अधिकारकर्मी तथा नेपाली नागरिकहरू सडकमा धर्ना र प्रदर्शन गरिरहेको उल्लेख छ ।

ज्ञापनपत्रमा नक्कली भुटानी शरणार्थी काण्डका भ्रष्टाचारीलाई कानुनी कारवाहीको दायरामा ल्याउन सरकारले राखेको अडान, कार्य र सक्रियताले आमनागरिकको बीचमा सकारात्मक सन्देश प्रवाह गरेको जनाउँदै निराश भएका जनता केही मात्रामा आशावादी बनेको उल्लेख छ ।
शरणार्थी प्रकरणमा संलग्न पूर्वउपप्रधानमन्त्री, मन्त्री, कतिपय दलका उच्चपदस्थ नेता, बहालवाला सांसद, उच्चपदस्थ कर्मचारी लगायतका व्यक्तिहरूको भ्रष्ट क्रियाकलापलाई आधार बनाएर विभिन्न आवरणका शक्तिहरूले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्ने र विविध षड्यन्त्र गर्ने काम गरिरहेको ज्ञापनपत्रमा जनाइएको छ ।
ज्ञापनपत्र बुझाउने कार्यमा पार्टीका नेपाल बुद्धिजीवी परिषद् सप्तरीका अध्यक्ष अनिलकुमार अनल, नेपाल किसान महासंघ सप्तरीका अध्यक्ष सत्यनारायण यादव, युवा संघ प्रदेश सचिव छोटेलाल यादव, अखिल नेपाल महिला सङ्घकी केन्द्रिय सदस्य अनार चौधरी, केन्द्रिय परिषद् सदस्य किरण मिश्रा समेतको सहभागिता थियो ।












