Logo

नेकपा एसको मेची-काली ‘समाजवादी जागरण अभियानको लागी शीर्ष नेताहरूझापा तर्फ 

                     
Logo १२ आश्विन २०८०, शुक्रबार २१:२६    

अम्बिका दहाल ,काठमाडौं । नेकपा एकीकृत समाजवादीले मेची–काली ‘समाजवादी जागरण अभियान’ को लागि काठमाडौंबाट झापाको काँकडभिट्टातर्फ जाने टोलीलाई पार्टी केन्द्रीय कार्यालयबाट बिदाइ गरेको छ । अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूले अभियान सुरु गर्ने टोलीलाई आज बिदाइ गरेका हुन् ।

असोज १४ देखि २९ गतेसम्म हुने अभियान झापाको काँकडभिट्टाको मेची नदी किनारबाट अध्यक्ष नेपालले सुरु गर्ने तय भएको छ । नेकपा एसले अभियानमार्फत विभिन्न जिल्लाहरूमा पार्टीका विभिन्न तह र तप्काका कमिटीहरुसँग छलफल र जनताको कुरा सुन्ने लक्ष्य बनाएको छ ।

एमालेबाट विद्रोह गरेर पहिलो पटक महाधिवेशन गर्न लागेको नेकपा एसले जनताको सुझाव अनुरुप अघि बढ्न महाधिवेशन अघि अभियान सञ्चालन गर्न लागेको हो । अभियानमा जनतासँग प्रत्यक्ष जोडिएको कृषि उत्पादन, व्यवसायिक सीप र क्षमता अभिवृद्धि गरी स्वरोजगार सिर्जना, शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषय जनताको मौलिक अधिकारका रूपमा स्थापित गर्न, जनशक्ति पलायन बन्द गरी सबैलाई रोजगारीमा समावेश गर्न तथा युवालाई समाजवादी क्रान्तिका लागि तयार गर्नेबारे सुझाव लिइनेछ ।

समृद्ध नेपाल निर्माण गर्न अभियान तय गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले बताए । उनले भने, समाजवादी जागरण अभियानको नाममा हामी जनताको घरदैलोमा पुग्नेछौं र जनताको दुःखसुखमा साथ दिनेछौं ।’

भूमिहीन तथा अव्यवस्थितलाई लालपुर्जाको व्यवस्था, भाषा, धर्म संस्कृति, धार्मिक सहिष्णुता र एकता नेपालीको सभ्यता, राष्ट्रिय पूँजीको विकास, स्वदेशी कच्चापदार्थमा आधारित उद्योग स्थापना गर्न अभियानका क्रममा सन्देश प्रवाह गरिनेछ ।

रूपान्तरणकारी एजेण्डा, पार्टीले उठाउँदै आएका अन्य मुद्दा, कार्ययोजनाबारे जनतालाई बुझाइने उनको भनाइ छ । अभियानले भ्रष्टाचार अन्त्य गर्न जनतालाई जागृत गरिने उल्लेख गरेको छ ।

अभियानअघि अपिल जारी गर्दै नेकपा एसले लोकतान्त्रिक गणतान्त्रिक अधिकारहरू प्राप्त गर्दै जाने क्रममा राज्यमाथि जनताको निगरानी बढेको उल्लेख गरेको छ ।

असोज १४ गते झापाको  काँकडभित्ता, बिर्तामोड, दमक, उर्लाबारी , विराटनगर चोक, असोज १५ गते इटहरी, इनरुवा, भारदह र राजविराजमा जागरण अभियान सञ्चालन हुनेछ । असोज १६ गते बिहान राजविराज, असोज १७ मा जनकपुर, १८ गते रौतहट, १९ गते पथलैया, २० गते कावासोती, बर्दघाट लगायतका विभिन्न स्थानमा जागरण अभियान सञ्चालन हुनेछ ।

असोज २१ गते भैरहवा, बुटवल, २२ गते सैनामैन, चन्द्रौटा, २३ गते घोराही, तुलसीपुर, २४ गते नेपालगञ्ज, २५ गते राजापुर, टीकापुर, २६ गते लम्की, सुख्खड, २७ गते पुनर्वास, झलारी र २८ गते छिन्चु, सुर्खेत, वीरेन्द्रनगर लगायतका स्थानमा जागरण अभियान सञ्चालन हुने छ ।


लोकप्रिय छुटाउनुभयो कि ?