आश्विन ११, २०७७ धनगढी ।


बुधबार डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ४८ वर्षीय पुरुष दुई दिन पहिले मात्र भारतबाट फर्किएका थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका नवदुर्गा गाउँपालिका २ का उनमा कोरोना पुष्टि भएको छ । ती पुरुषमा भारतमै रहेका बेला कोरोना पुष्टि भएको आफन्तले बताए पनि उनी स्वयंमले भने कसैलाई जानकारी समेत नगराएको खुलेको छ । भारतबाट फर्किएर क्वारेन्टिनमा बस्नुपर्ने पुरुष सोझै घर गएका थिए । डडेल्धुरा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिश विष्टले मृतक पुरुष श्वास प्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएपनि अन्य लक्षण भने नदेखिएको जनाए ।
‘भारतमा कोरोना पोजेटिभ देखिएको उहाँसँग आउनुभएका व्यक्तिले मौखिक जानकारी दिएका छन् । तर उहाँमा लक्षण कस्तो थियो ? भन्ने कुरा सँगै बसेका मान्छेहरु भेटिएका छैनन ।’ उनले भने, ‘अस्पताल पुगाउँदा शरिरमा अक्सिजनको मात्रा निकै कम थियो । प्रयास गर्दा गर्दै बचाउन सकिएन ।’ कोरोना संक्रमणका कारणबाट मृत्यु भएका पुरुषको बारेमा अस्पतालले थप विवरण खोजिरहेको जनाएको छ । नवदुर्गा गाउँपालिकाले भने उनको मृत्युपछि गाउँ सिल गरेर सम्पर्कमा आएका अन्यको नमूना संकलन गरी परीक्षणको तयारी थालिएको जनाएको छ । गौरीफन्टा त्रिनगर सीमा नाकाबाट फर्किएका संक्रमित पुरुष सोझै घर गएको देखिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

सुदुरपश्चिममा शनिबार मात्रै चार जना कोरोना संक्रमितको मृत्यु भयो । त्यसमा दुई जना भारतबाट आएका रहेका छन् । अछामको बान्नीगढी जयगढी गाउँपालिका ३ का ३४ वर्षीय पुरुषको मृत्यु भयो । अछाम जिल्ला अस्पतालमा उपचार गर्दा गर्दै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख झनक ढुंगानाले पुष्टि गरे । ‘स्वास्थ्यमा समस्या भएपछि बिहान अस्पताल पु¥याइएको थियो, तर राति ९ बजे उनको मृत्यु भयो,’ उनले भने । गत भदौ २५ गते भारतबाट फर्किएका उनलाई बान्नीगढ जयगढ गाउँपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । त्यहाँ रहेका उनी सहित १९ जनाको कोरोना परीक्षण गर्दा सबैमा संक्रमण पुष्टि भयो ।
भारतबाट फर्किदै गर्दा बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ३ का ३० वर्षीय पुरुषको मृत्यु भयो । बाटोमै मृत भेटिएका उनको स्बाब संकलन गरी परिक्षण गर्दा कोरोना पुष्टि भयो । स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले मृतक बोहोराको डडेल्धुरा अस्पताल प्रयोगशालामा पीसीआर विधि मार्फत कोरोना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको बताए । भारतको बैङ्लोरबाट फर्किएका उनी शनिबार पुर्चौडी नगरपालिका वडा नम्बर १ को लामाधारमा मृत भेटिएका थिए । मृतक बोहोराको शव व्यवस्थापन गरिएको छ ।
लकडाउन र निषेधाज्ञा खुलेपछि सीमानाका अव्यवस्थित हुँदा भारतबाट फर्किरहेका संक्रमितहरु सोझै घर फर्किरहेका छन । जसले गर्दा समुदाय स्तरमा संक्रमणको जोखिम बढेको छ । स्थानीय प्रशासन, प्रदेश सरकार र स्थानीय तहले आपसी समन्वयका माध्यमबाट सीमालाई व्यवस्थित गरी भारतबाट फर्किनेहरुलाई छुट्टै राख्दै परीक्षण गर्नुपर्ने हो । तर सुदूरपश्चिममा लकडाउन र निषेधाज्ञा खुलेपछि सीमा नाकाबाट विगतमा जस्तै आवागमन भईरहेको छ भने नाकामै स्थापना गरिएको होल्डीङ सेन्टरमा होल्ड गर्न समेत समस्या भईरहेकोे छ । गौरीफन्टा नाकामा होल्डिङ सेन्टर स्थापना र सञ्चालनका लागि बजेट पाएको धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले अहिले विगतमा जस्तो होल्डिङ सेन्टर नहरेको बताए । ‘अहिले सार्वजनिक सवारी पनि खुलिसकेको अवस्था भएकाले विगतमा जस्तो राती नै बास बस्नेगरी होल्डिङ सेन्टर छैन् ।’ उनले भने, ‘भारतबाट फर्किनेहरु केहीबेर होल्ड गर्नूहुन्छ । खाने व्यवस्था पनि मिलाएका छौँ । कतिपय मान्छेहरु सोझै पनि जानुहुन्छ ।’
यता भारतबाट फर्किनेहरुको सीमामै पीसीआर परीक्षण गरेर घर पठाउने दावी गर्दै आएको प्रदेश सरकार समेत अहिले विभिन्न बाहाना देखाउदै पन्छिरहेको छ । स्रोत साधन र समन्वयको अभावको कारण देखाउँदै सीमामा कोरोना परीक्षण गर्ने बाचाबाट पन्छिरहेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सीमामै परीक्षणको व्यवस्था मिलाउने भनिए पनि भौतिक र आर्थिक स्रोतको अभावले समस्या भएको बताए । ‘सीमा नाकामा होल्डिङ सेन्टर बनाउने भन्ने विषयमा छलफल भएको हो ।’ उनले भने, ‘तर दैनिक ५, ७ सय जना आउँनुहुन्छ । त्यति धेरै मान्छेहरुलाई होल्डिङ सेन्टरमा राख्न सक्ने क्षमता भएन ।’ भारतबाट फर्किनेहरुलाई व्यवस्थित नगरिदा स्थानीय र सामुदायिक संक्रमण नदेखिएका क्षेत्रमा जोखिम बढेको छ । स्थानीय तहले समेत भारत तथा अन्य क्षेत्रबाट फर्किनेहरुलाई व्यवस्थापन गर्न छोडेपछि झनै समस्या भएको छ । साभार हिटा












