कञ्चनरुप


आश्विन २७ गते ।
जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले उत्पीडित जाति तथा समुदायको माग अझैं पनि सम्वोधन हुन नसकेकोले संविधान संशोधनकालागि आफुहरु अझैं संघर्षको क्रममा नै रहेको बताएका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ बनरझुलामा मंगलबार पार्टीका नेता स्व. धर्मनारायण रायको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
महतोले मधेशी, आदिवासी, जनजाति, शोषित, उत्पीडित समुदायको हक अधिकार सुनिश्चितताकालागि वैकल्पिक शक्तिको रुपमा आफुहरुको अगाडि बढिरहेको बताए ।
उनले भने मुलुकमा तेश्रो विकल्पको रुपमा राजनीतिक पार्टीको आवश्यकता रहेको भन्दै आफूहरु सोका लागि बृहत एकताका साथ अघि बढेको प्रष्ट पारे ।
काँग्रेस र कम्युनिष्टका सरकारलाई जनताले पटक पटक हेरिसके बताउँदै नेता महतोले जनताको अपेक्षा अनुसार काम हुन नसकेका कारण अहिले विकल्पको रुपमा तेश्रो राजनीतिक पार्टी आवश्यकता भएको दाबी गरे ।
मुलुकका दुई ठूला राजनीतिक पार्टीको कार्यशैलीलाई जनताले हेरिसकेको र तिनीहरुबाट मुलुकको समस्या समाधान नभएको टिप्पणी गर्दै उनले मुलुक र जनताको समस्या समाधानको लागि आफूहरु तत्पर रहेको उनको कथन छ ।
उनले संविधान संशोधन नगरिकन सर्वस्वीकार्य हुन नसक्ने ठोकुवाका गर्दै उनले आफूहरु त्यसैका लागि संघर्षरत रहेको प्रष्ट समेत पारे । संविधान सबैको सर्वस्वीकार्य बन्नलाई जनताको समस्या पहिले समाधान हुनु जरुरी रहेको भन्दै उनले आफूहरु मधेशदेखी पहाडसम्मका सिमान्कृत जनताको आवाज मुखरित हुने गरि संविधान संशोधनमा डटेर लाग्ने प्रतिबद्धता जनाए ।
जसपाका स्थानिय नेता जागेश्वर रायको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली सभालाई जसपाका अर्का नेता अनिल झा, प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, केशव झा, मृगेन्द्र कुमार सिंह यादव, मनिष कुमार सुमन, सूर्यनाथ यादव, शम्भु झा, सतिश सिंह, दयानन्द गोइतले पनि सम्बोधन गरेका थिए ।
सभामा संघीय सांसद चन्द्रकान्त चौधरीका साथै, गजेन्द्र कुमार मण्डल, दिपेन्द्र चौधरी, डा. टेक नारायण मण्डल, अमरनाथ मण्डल, मिभराज यादव लगायत जसपका नेता सर्वसाधारण सहभागि रहेका थिए । फोटो श्याम सरदारबाट












