१९ चैत्र कञ्चनरुप ।


इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आइतबारदेखि सुरु हुने भएको छ ।
यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । इस्लाम क्यालेण्डरको समय तालीका अनुसार निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ ।

रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । रमजान इस्लाम क्यालेण्डर अनुसार हिजरी सम्बत् १४४३ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।
देशभरका मुस्लिम समुदायले भक्तिको महिनाका रुपमा मनाउने भएकाले यसबाट पाप नाश हुने धार्मिक विश्वास छ । वर्षमा कुनै त्रुटि भएको भए यसै अवसरमा अल्लाहसँग क्षमायाचना गर्ने मुस्लिम समुदायको परम्परा छ ।












