राजविराज । नेपाल पत्रकार महासंघ सप्तरीमा गरिएको तालबन्दी प्रति पत्रकार सम्बद्ध पाँचवटा संगठनहरुले कार्यालयमा ताला लगाउनु न्यायसंगत नभएको ठहर शुक्रबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारीगर्दै गरेका छन ।


नेपाल प्रेस युनियन सप्तरी, प्रेस मञ्च, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनले शुक्रबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै वार्ता र सम्वादको माध्यमले समाधान खोज्नुपर्नेमा वा अन्य रचनात्मक आन्दोलन गर्नुपर्नेमा सोझै कार्यालयमा ताला लगाउनु न्यायसंगत नभएको ठहर गरेका हुन् ।
नेपाल पत्रकार महासंघ सप्तरीको राजविराज स्थित शाखा मा मिति २०८० फागुन २४ गते सदस्यता श्ुद्धिकरणमा परेकामध्ये केहि व्यक्ति(पत्रकारिता छाडेर अन्य पेशा, व्यवसायमा लागेका) ले गरेको तालाबन्दी प्र्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको जनाउँदै कार्यालयमा लगाइएको ताला खोली वार्ता र सम्वादको माध्यमले अघि बढ्न विज्ञप्ती मार्फत सम्बद्ध पक्षसँग आग्रह गरिएको हो ।

नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण, प्रेस मञ्च सप्तरीका अध्यक्ष भूषणकुमार सिंह, प्रेस चौतारी नेपालमा अध्यक्ष डम्बर राई, प्रेस सेन्टर नेपालका अध्यक्ष दिनानथ यादव र समाजवादी प्रेस संगठनका अध्यक्ष अनिल पोखरेलेले हस्ताक्षर गरेको संयुक्त प्रेस विज्ञप्तीमा ‘स्वेच्छाले सदस्यता परित्याग गरेकाहरु पुनः आफ्नो सदस्यता कायम रहनुपर्छ भनी ढिपी कस्नु नैतिकताको बिषय हुनै सक्दैन् । पत्रकार महासंघ, विशुद्ध पत्रकारहरुको मात्र संस्था बन्नुपर्नेमा हामी प्रतिबद्ध छौं । यो पेशा छाडेर अन्य पेशामा गएकालाई आफैं सदस्यता त्याग गर्नुपर्नेमा सदस्य रहन पाउँ भन्नु न्यायसंगत हुन सक्दैन्’ उल्लेख छ ।
नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियानलाई सप्तरीका सबै पत्रकार सम्बद्ध संगठनले समर्थन गरेको उल्लेख गर्दै ‘नेपाल पत्रकार महासंघ, चेन अफ कमाण्ड भित्रको र केन्द्रको निर्देशन अनुसार चल्ने संस्था भएको हामीले बुझेका छौं । केन्द्रीय कार्यालयले देशभर शुद्धिकरण गर्ने अभियान चलाएपछि सप्तरी शाखाले पनि चलाएको हामी सबैलाई अवगतै छ । जसको हामी सबै संगठनले समर्थन पनि गरेका हौं । शाखाको शुद्धिकरण निर्णयपछि कतिपयले प्रदेश समितिमा उजुरी पनि दिएका थिए । प्रदेशले सिफारिस गरी केन्द्रमा बुझाउँदा पनि कतिपयले उजुरी हालेका छन् । केन्द्रले अहिलेसम्म सदस्यता निक्र्यौल गरि नसकेको अवस्था विद्यमान छ’ विज्ञप्तीमा भनिएको छ ।
सप्तरी शाखाले साधारणसभा गर्ने मिति निर्धारण गरिसकेपछि केन्द्रले नै रोक्न निर्देशन दिएको सबैलाई जानकारी हुँदा पनि सदस्यता कायम गराउने, साधारण सभा गर्ने अधिकार अहिले शाखालाई नभएको स्पष्ट पार्दै नयाँ सदस्यता दिने बिषयमा महासंघले प्रक्रिया अगाडी बढाईसकेको अवस्थामा तालाबन्दीले उक्त काम पनि प्रभावित हुने भएकाले सम्बद्ध पक्षलाई कार्यालयमा लगाइएको ताला खोली वार्ता र सम्वादको माध्यमले अघि बढ्न आग्रह गरिएको छ ।
बिहीबार शुद्धिकरणमा परि महासंघको सदस्यताबाट हटाईएका जितेन्द्र खड्गा, विष्णुकुमार मंडल, शिवनाराण साह सुरज सहितकाले तीन बुँदे माग राखीमहासंघको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका थिए ।












