Logo

दूध बेचेको ८ करोड बक्यौता माग गर्दै किसानहरू आन्दोलित 

                     
Logo १५ फाल्गुन २०८०, मंगलवार १८:४९    

कञ्चनरुप । सप्तरीमा दूध बिक्री वापत पाउनुपर्ने भाग राख्दै दुग्ध उत्पादक सहकारी संघले प्रमुख जिल्ला अधिकारी किरण थापालाई मंगलबार ज्ञापन पत्र बुझाउदै आन्दोलित भएका छन ।

विगत ८ महिनादेखि दूध बिक्री वापतको रकम नपाएको भन्दै दिलाइदिन माग गर्दै आन्दोलन घोषणा गरेका छन ।

दुग्ध किसानको सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान अन्तर्गत विराटनगर दुग्ध वितरण आयोजना सहितका अन्य निजी डेरी उद्योगीले विगत ८ महिनादेखि ८ करोडभन्दा बढीको भुक्तानी नदिएको भन्दै यथाशीघ्र गराइदिन माग गर्दै आन्दोलनको घोषणा गरिएको बताएका छन ।

माग पूरा गराउन १७ गते सांकेतिक रुपमा शान्तिपूर्ण तरिकाले दूध पोखेर विरोध जनाउने निर्णय उनीहरूले गरेका छन् । त्यस दिन मध्यान्ह १२ देखि १ बजेसम्म पूर्व पश्चिम राजमार्ग अन्तर्गत महुलीमा दूध पोखेर एक घण्टा चक्काजाम गर्ने कार्यक्रम तय गरिएको संघका अध्यक्ष दिपेन्द्र कुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार दुग्ध सहकारी संस्था लिमिटेड नेपालले आह्वान गरेको अन्य सबै आन्दोलनमा सहभागी हुने र फागुन २१ देखि माइतीघर मण्डलामा हुने धर्ना तथा विरोध प्रदर्शन माग पूरा नभएसम्म जारी राख्ने निर्णय भएको छ ।

आदर्श दुग्ध विकास सहकारी संस्था महुलीका प्रबन्धक बोधराज सुवेदीले सप्तरीमा मात्र किसानहरूको ४ करोड भुक्तानी विराटनगर आयोजनाले रोकेको बताए । आफूहरूको समस्या बारे नेपाल सरकारलाई पटकपटक  ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएपछि चरणबद्ध आन्दोलनमा जानू परेको उनले जानकारी दिए ।

संघका अध्यक्ष दिपेन्द्र आचार्यले नेपाल सरकार समेत दूध उत्पादक किसानहरूको समस्या समाधानमा गम्भीर नभएको आरोप लगाए । विराटनगर आयोजनाले करोडौं रुपैयाँ किसानहरूको दूधको भुक्तानी रोकिएकाले कारबाहीका लागि संघीय सरकारका कृषि मन्त्रीलाई भेटेर हारगुहार गरेको बताउँदै  उनले किसानको माग सम्बोधनमा चासो नदिने कृषिमन्त्रीले तुरुन्तै पदबाट राजिनामा दिनुपर्ने माग गरे ।

उनले तत्काल मागको सुनुवाइ नभए सडक संघर्ष सहितका केन्द्रिय दुग्ध सहकारी संघले आव्हान गरेको आन्दोलनमा समर्थन गर्दै सङ्घर्षमा  सहभागी भई थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।

यसैगरी लागत मूल्य घटाउने कार्यक्रमहरू विगतमा दिइदै आएको दूध लिटर अनुदान कम्तीमा रु १० सबै पालिकामा सबै किसानले पाउने गरि लागू गरियोस्, पशु आहारा पशु औषधि लगायत पशुपालन सँग सम्बन्धित बस्तुका मूल्य राज्यबाट अविलम्ब नियन्त्रण गरियोस्, बिमा कार्यक्रमलाई प्राथमिकता राखी बिमाको दावी भुक्तानी सहज बनाइयोस्, निर्यातित दुग्ध पदार्थमा अनुदानको व्यवस्था अविलम्ब गरियोस्, दूध तथा दुग्ध पदार्थ निर्यातको लागी खोरेत लगायतका रोग मुक्त घोषणा गरियोस्, सिमा क्षेत्रबाट अवैध रुपमा भित्र रहेको दूध तथा दुग्ध जन्य पदार्थको तस्करी तुरुन्त बन्द गरियोस्, गुणस्तरीय दूध उपभोक्ता समक्ष पु¥याउनको लागि आवश्यक प्रबन्ध गरियोस्, पशु आहारा पराल भुस आदिको ढुवानीमा ट्राफिक प्रहरीले दिने अनावश्यक दुःख अन्त्य गरियोस लगायतको माग संघले बुझाएको ज्ञापनपत्र उल्लेख छ ।

संघको अगुवाइमा विभिन्न स्थानबाट सदरमुकाम राजविराज पुगेका दूध उत्पादक किसानहरूले कृषि मन्त्री राजिनामा दे लगायतका चर्का नारा लगाउदै जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टा धर्ना दिएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?