कैलाश माझी सप्तकोसी ।


२९ वैशाख ,राजविराज । सप्तकोसी नगरपालिकामा ७ महिनाको इन्धन खर्च २२ लाख ६० हजार भन्दा बढी सरकारी खर्चमा मितव्ययिताको नारा सप्तकोसी नगरपालिकामा भने नारामै सीमित देखिएको छ । सप्तरीको सप्तकोसी नगरपालिकाको कार्यालयमा मात्र पछिल्ला ७ महिनामा २२ लाख ६० हजारभन्दा बढी रकमको इन्धन खर्च भएको पाइएको छ ।
सूचनाको हकको अभियन्ता तथा पत्रकार कैलाश माझीले सप्तकोसी नगरपालिकामा आ। ब। २०७९र०८० मा सवारी साधनमा प्रयोग हुने इन्धन खर्चसम्बन्धी सूचना विवरणको प्रमाणित प्रतिलिपि पाउ भनी सूचनाको हक सम्बन्धी ऐन २०६४ बमोजिम सूचना माग गरेका थिए ।

गत चैत्र १७ गते सप्तकोसी नगरपालिकाको कार्यालयका सूचना अधिकारी शैलेश गुप्ताले सूचना मागकर्ता कैलाश माझीलाई लिखित रुपमा सूचना उपलब्ध गराएपछि यो रहस्य सार्वजनिक भएको हो ।
नगरपालिकाको सूचना अधिकारीले उपलब्ध गराएको सूचना तथा जानकारी अनुसार श्रावण देखि फाल्गुन महिना सम्ममा सवारी साधन इन्धन बापत २२ लाख ६० हजारभन्दा बढी रकम लेखा बाट भुक्तानी गरेको पाइएको छ ।
उपलब्ध सूचना तथा जानकारी अनुसार सप्तकोसी नगरपालिकामा २० वटा ठूला तथा साना सवारी सञ्चालनमा छन् । जस्मा १२ वटा मोटरसाइकल, २ स्कुटर, १ जिप, १ एम्बुलेन्स, १ ट्रिपर, १ रोलर, १ ट्रयाक्टर, १ ब्याक हो लोडर गरि जम्मा २० सवारी रहेका छ्न ।
ती मध्ये धेरै सवारीलाई सरकारी कामकाजका लागि भन्दै नगरपालिकाले इन्धनको कुपन उपलब्ध गराउने गरेको छ । कुपन लिएर नगरपालिका कार्यालय छेउमै रहेको बसन्ती ट्रेड सेन्टर पेट्रोल पम्पमा गएर कर्मचारीले सवारीमा इन्धन भर्ने गरेका छन् ।
सरकारी कामका लागि भनेर नगरपालिकाले इन्धन वापत खर्च छुट्याउने गरेको छ । तर, कतिपय सवारी व्यक्तिगत काममा कर्मचारीले प्रयोग गर्दै आएका छन् । भने कतिपय कर्मचारीले सरकारी बिदाका दिन पनि सवारी दुरुपयोग गर्दै आएका छन् ।













