Logo

सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष धरौटीमा रिहा

                     
Logo १९ भाद्र २०८०, मंगलवार २०:२१    

कञ्चनरूप । भ्रष्टाचार मुद्दामा अख्तियारको नियन्त्रणमा रहेका सप्तरीको विष्णुपुर गाउपालिका अध्यक्ष उमेशप्रसाद यादव सहित तीन जना धरौटीमा रिहा भएका  छन् ।

घुस लिई भ्रष्टाचार गरेको मुद्दामा सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव, लेखापाल टेकनारायण यादव र एम.आई.एस अपरेटर वीरेन्द्रकुमार यादव मंगलबार विशेष अदालतको आदेशमा धरौटीमा रिहा भएका हुन् ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल र सदस्य न्यायाधीश शालिग्राम कोइरालाको संयुक्त इजलासमा मंगलबार भएको थुनछेक बहसमा पालिका अध्यक्ष यादवलाई दुई लाख र लेखापाल तथा अपरेटरलाई जनही तीन तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको विशेष अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीले जानकारी दिए ।

मंगलबार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीले उनीहरु विरुद्ध पाँच लाख रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालत काठमाडौंमा   मुद्दा दायर गरेको थियो ।

आयोगले उमेश प्रसाद यादव, टेक नारायण यादव र विरेन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुरमा बिगो पाँच लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को देहाय घ बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा १ अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत दाबी गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

गाउँपालिका अध्यक्षसहित अपेटर विरेन्द्र कुमार यादवलगायतले आपसी योजनामा सोलार बत्ती जडान गर्दा गाउँपालिकाबाट रकम भुक्तानी गरेबापत सेवाग्राहीसँग पाँच लाख (दुई लाख नगद र तीन लाख चेक_ रुपैयाँ घुस लिएको अख्तियारले दाबी गरेको छ ।

अध्यक्ष उमेश, लेखापाल टेक नारायण यादव र एम.आई.एस   अपरेटर बिरेन्द्रलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा साउन ३१ गते नियन्त्रणमा लिइएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?