कञ्चनरुप । दसैँ सुरु भएसँगै भक्तजनहरू विभिन्न शक्तिपीठहरूमा दर्शनार्थीको घुइँचो भिड लाग्न थालेको छ। नवरात्रभर सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कङ्कालिनी मन्दिर, राजदेवी मन्दिर, बाराको गढीमाई मन्दिर, पर्साको गहवामाई मन्दिरमा सबैभन्दा बढी भिड लाग्छ । धेरैले दिनभरि नै उपवास तथा निराहार बसेर नवरात्रभर पूजापाठ गर्छन् । कोही अरवा ( नउसिनीएको चामल) मात्र खाएर नवरात्रमा पूजापाठ गर्छन् ।


छिन्नमस्ता भगवती

राजविराज सदरमुकामदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता भगवती मन्दिरमा निशा र तान्त्रिक दुवै विधिबाट पूजा आराधना गर्ने गरिन्छ । वर्षका चार वटै नवरात्रिमा ५६ प्रकारका परिकार बनाएर मध्यरातमा नशा पूजा गरिन्छ । पूजामा बिध्नबाधा उत्पन्न हुन थालेपछि तान्त्रिकलाई बोलाएर तन्त्रिका विधिद्वारा पनि पूजा गरी भगवतीको सिंहासनमा एउटा जन्तर राखी बडादसैँको महाअष्टमीको राति विशेष पूजा गरिन्छ ।
मन्दिरमा नेपाल र छिमेकी भारतका हिन्दु धर्मावलम्बीसँगै मुस्लिम र अन्य धर्मावलम्बीबाट पनि दृढ इच्छाशक्ति एवं विश्वासका साथ मन्दिरभित्र वा बाहिर बसी ‘फुलहैस’ गरिन्छ । सन्तान प्राप्ति, सुयोग्य विवाह, मुद्दा मामिलामा विजयी प्राप्ति आदिका लागि ‘फुलहैस’ गराउने गरेको पिठाधीश महाकान्त ठाकुर बताउनुहुन्छ ।
मनोकामना पूरा भएका भक्तजनले भगवती दुर्गालाई भोजन गराउने मान्यताका साथ पाँच कुमारीलाई भोजन गराउने र उनीहरूको जुठो प्रसादका रूपमा ग्रहण गर्ने चलन छ । यहाँको मन्दिरमा पशुबलि दिँदा निस्केको रगतमा झिँगा बस्दैन, कपडामा दाग लाग्दैन, पानीमा मिसिँदा रातो हुँदैन भन्ने विश्वास छ । मन्दिरमा चढाइने सामग्री र बलिको जनावर पवित्र हुनुपर्ने मान्यता रहेको पिठाधीश ठाकुरको भनाइ छ ।
करिब १३० वर्षअघि गुफाबाट भगवतीलाई स्थानीय च्याखुरी नानी र चुनीलाल ठाकुरले सफा गरी भिक्षाटनबाट सङ्कलित रकमबाट सानो मन्दिर निर्माण गरेका थिए । मन्दिरभित्र मूल देवीका रूपमा भगवतीको कालो रङको बुट्टेदार मूर्ति छ । मूर्तिको पाउतिर
राँगाको काटिएको टाउको प्रस्ट रूपमा ढुङ्गामा कुँदिएको छ । मूल मूर्तिको देबे्रपट्टि क्रमशः दक्षिणकाली, महिषमर्दिनी र दाहिनेतिर क्रमशः चामुण्डा, भैरवी र कालो रङको प्रस्तर मूर्ति स्थापना गरिएको छ । ती मूर्तिलाई पञ्चभगिनी भनिन्छ ।
कङ्कालिनी भगवती मन्दिर
सप्तरीको भारदहस्थित प्रसिद्ध शक्तिपीठमध्ये कङ्कालिनी भगवती मन्दिरमा नवमीका दिन करिब हजारको सङ्ख्यामा राँगाको बलि चढाइन्छ । कङ्कालिनी भगवतीमा निःसन्तानहरूले सन्तानका लागि, जटिल रोगबाट पीडितले स्वास्थ्यलाभका लागि, जीवन सङ्कटमा परेकाहरूले जीवन रक्षाका लागि, पेसा र रोजगारी सङ्कटमा परेकाहरूले त्यसमा सफलताका लागि वर्षौं देखि यहाँ विभिन्न किसिमका भाकल गर्ने गर्छन् । भाकल पूरा भएपछि महानवमीका दिन राँगाका साथै बोका र परेवाको पनि बलि दिइन्छ । नेपालमै गढीमाई पछि ठुलो सङ्ख्यामा राँगाको बलि प्रदान गरिने शक्तिपीठका रूपमा कङ्कालिनी भगवतीलाई मानिन्छ ।
राजदेवी मन्दिर
राजविराज नगरपालिका–१ मा रहेको राजदेवी माताको मन्दिर तत्कालीन सेनवंशी राजाहरूकी इष्टदेवी मानिन्छ । त्यहाँ कुनै प्रतिमा नभई शिलालाई पुज्ने गरिन्थ्यो । राजदेवी माताको मन्दिरमा सप्तमीका दिन नेपाली सेनाको एक टोलीले फूलपाती भित्र्याउने गर्छ । यहाँ पनि सयौँको सङ्ख्यामा पशु बलि प्रदान गरिन्छ । नवरात्रभर राजविराजका भगवती मन्दिर, डाक्नेश्वरी लगायतका मन्दिरमा भक्तजनको ठुलो घुइँचो लाग्छ । गो.प.बाट












