कञ्चनरुप


फागुन २० गते।
सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको भूमिगत नेकपाबीच सहमति जुटेपछि पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् ।

सरकारी टोली र विप्लव समूहबीच भएको वार्तामा सहमति भएपछि विशेष समारोह गरेर उक्त सहमतिहरु सार्वजनिक गर्ने र सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समेतले सम्बोधन गर्ने दुवै पक्षका वार्ता टोली संयोजकले बिहीबार जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
सहमतिसँगै पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको छ । नेकपा विप्लव समूह आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्न तयार भएको वार्ता टोली सदस्य भट्टराईले जानकारी दिए ।
वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।
विप्लव समूहलाई केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ को मन्त्रिपरिषद् निर्णयले प्रतिबन्ध लगाएको थियो । विप्लव समुहले वर्तमान व्यवस्था र संविधान नै नमान्ने बताउँदै आएको थियो ।












