काठमाडौं, ३ चैत ।


प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी ताजा जानदेशमा जानुको विकल्प नभएको बताएका छन् ।

आज ९मंगलबार० साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा आयोजना गरेको सर्वदलीय बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले संसदमा विघटन गर्ने आफ्नो निर्णय गलत नभएको समेत जिकिर गरेका छन् ।
प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने आफ्नो कदमको बचाऊ गर्दै ताजा जनादेशमा जानुपर्ने भनाइ राखेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिएका छन् । ‘नयाँ जनादेशमा जानुको विकल्प छैन भनेर प्रधानमन्त्री ओलीले बैठकमा भन्नु भयो । उहाँले संसद गर्ने आफ्नो निर्णय गलत नभएको भन्दै बचाऊ पनि गर्नु भएको थियो’, अध्यक्ष केसीले भने, ‘प्रधानमन्त्रीले सर्वोच्च अदालतले पुनर्स्थापनाको गरेको विषयलाई पनि आफूले अन्यथा नलिएको बताउँनु भयो ।’
वैठकमा समसामयिक विषयमा छलफल भएको छ । बैठकमा राष्ट्रपति भण्डारीले आफ्नो बंगलादेश भ्रमणको विषयमा जानकारी गराएकी छिन् । अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिले बंगलादेशको मैत्रीपूर्ण भ्रमणका सिलसिलामा भेटघाट र चियापानका लागि बैठक बोलाएको भए पनि समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको बताए ।
‘लामो बसाइ भएन, फाट्टफुट्ट राजनीतिक कुराकानी पनि भयो, तर सबै दलका नेताहरूले बोल्नु पनि भएन,’ केसीले भने, ‘समग्रमा राजनीतिक दलहरूबीच समन्वय गरेर संसदीय प्रक्रियाबाटै समाधानको बाटोमा जानुपर्छ भन्ने धारणा व्यक्त भयो ।’
बैठकमा एमालेका तर्फबाट अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, महासचिव ईश्वर पोखरेल, नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, रामबहादुर थापा, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा। शशांक कोइराला, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ र देव गुरुङ, जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनी, नेमकिपाका सांसद प्रेम सुवाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागी थिए । तर, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल र डा। बाबुराम भट्टराई भने बैठकमा सहभागी भएनन् ।
राष्ट्रपति भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका लागि आगामी सोमबार त्यसतर्फ प्रस्थान गर्दै छिन् । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणमा भ्रमणमा जान लागेकी राष्ट्रपति भण्डारी बंगलादेशको स्वतन्त्रताको स्वर्णजयन्ती तथा संस्थापक शेख मुजिबर रहमानको शतवार्षिकीमा सहभागी हुने कार्यक्रम छ । राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिवलगायत उच्च पदस्थ अधिकारीहरू रहेको मन्त्रालयले जनाएको छ ।












