Logo

नेपालका दुर्गाप्रसाद ४० वर्षपछि भारतीय जेलबाट छुटे

                     
Logo ७ चैत्र २०७७, शनिबार १३:४७    

काठमाडौं ।

सुनुवाइविनै ४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार थुनामुक्त भएका छन् ।

दाजु प्रकाशचन्द्र तिम्सिनाले कोलकाताको दमदम केन्द्रीय कारागारमा सम्झौता पत्रमा हस्ताक्षर गरेपछि दुर्गाप्रसाद कोलकतास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’मा रहेका तिम्सिना शनिबार जेल मुक्त भएका हुन् ।

इलाम माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना सन् १९८० मा दार्जेलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका थिए । यद्यपि उनीमाथिको यो आरोप प्रमाणित भएको छैन ।

दुर्गाप्रसादको अवस्थाबारे गत मंसिरमा परिवारले जानकारी पाएको थियो । उक्त जानकारीपछि उनका भाइ (काकाका छोरा) प्रकाशचन्द्रले ११ फागुनमा दाइको रिहाईका लागि कोलकातास्थित उच्च अदालतमा निवेदन थिएका थिए ।

तिम्सिनालाई हत्याको झूटो आरोप लगाएर फसाइएको आफन्तले दाबी गरेका थिए । यो दाबी सही साबित भएको छ । दुर्गाप्रसादका भाइ (काकाको छोरा) प्रकाशचन्द्र तिम्सिनाले उनलाई झूटो मुद्दामा फसाएर जेल पठाइएको खुलासा भएको बताए । सन् १९८० मे ११ मा दुर्गाप्रसादविरुद्ध दार्जिलिङ पुलिस कार्यालयमा जाहेरी दर्ता भएको थियो ।

कोलकाता उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले बुधबार उनलाई छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि भाइ प्रकाशचन्द्र सहयोगी संस्था विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतसहित कोलकाता पुगेका थिए ।

इलामको एकतप्पाबाट २०३७ सालतिर कामको खोजीमा उनी दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा त्यो समय गोर्खाल्यान्ड आन्दोलन जारी थियो । पश्चिम बंगाल सरकारले उनलाई हत्या अभियोगमा जेल पठाएको थियो । उनी पक्राउ पर्दा करिब ३६ वर्षका थिए । अहिले उनी ७५ वर्षका भए ।


लोकप्रिय छुटाउनुभयो कि ?