Logo

पत्रकार महासंघको निर्वाचन–पोखरेल पुरै प्यानलसहित निर्वाचित

                     
Logo २८ चैत्र २०७७, शनिबार १९:०१    

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन समितिका अनुसार महासंघको अध्यक्षमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेल पूरै प्यानलसहित निर्वाचित हुनुभएको छ ।

पोखरेलले ६ हजार ९४२ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्धन्द्धी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९१५ मत प्राप्त गर्नु भएको छ । अध्यक्षका अर्को प्रत्यासी गजेन्द्र बुढाथोकीले ६९१ मत प्राप्त गर्नुभयो ।

महासंघको चुनावमा पोखरेलको उम्मेदवारी नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस सङ्गठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चोतारी सहित ११ सङ्गठनको तर्फबाट रहेको थियो ।

अध्यक्षमा नेकपा एमालेको ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी निकट प्रेस मञ्च, विप्लव निकट जनपत्रकार संघ लगायतको प्यानलबाट निर्मला शर्माको उम्मेदवारी थियो । त्यसबाहेक गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो ।

अर्कोतर्फ एमाले सम्बद्ध प्रेस चौतारीसहितको गठबन्धनले प्रदेश १ को एउटा केन्द्रीय सदस्य र प्रदेश दुईको दुवै सदस्य तथा नेतृत्व जितेका छन् ।

महासंघको बरिष्ठ उपाध्यक्षमा रमेश बिष्ट, समावेशी उपाध्यक्षमा उदय जिएम र महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित हुनुभएको छ । त्यस्तै महासचिवमा रोशन पुरीले जित्नुभएको छ ।

गोविन्दप्रसाद चौलागाई खुला सचिवमा निर्वाचित हुनु भएको छ भने महिला सचिवमा सिर्जना अर्याले आदिवासी जनजाती सचिवमा नारायण सुन्दर किलम्बु विजयी हुनुभएको छ । त्यसैगरी मधेसी सचिवमा दीपेन्द्र चौहान विजयी हुँदा दलित सचिव हेमकर्ण विक निर्वाचित हुनु भएको छ । एशोसिएट सचिव पवन आचार्य बन्नुभएको छ ।

कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित हुनुभएको छ भने लेखनाथ न्यौपाने लेखा समिति संयोजक बन्नुभएको छ ।हिटा


लोकप्रिय छुटाउनुभयो कि ?