धनकुटा ।


धनकुटामा सिंगैं वस्तीका पुरै घरमा करेन्ट लागेपछि एकजनाको मृत्यु हुनुका साथै १५ जना गम्भीर घाईते भएका छन । धनकुटाको महालक्ष्मी नगरपालिका-४ चानुवास्थित सिंगो बस्तीमा शनिबार साँझ हाइभोल्टेज विद्युत् प्रवाह भएपछि करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ । करेन्ट लागेर घाइते हुने १५ जनामध्ये ८ जनाको अवस्था गम्भीर छ । मृत्यु हुने महालक्ष्मी नगरपालिका ४ भुटडाँडाका ५३ वर्षीय चन्द्रबहादुर कार्की हुन ।
करेन्ट लागेर घाईते हुनेहरुमा नेवार गाउँका ५५ वर्षीया बमकुमारी श्रेष्ठ, ६१ वर्षीय पदमबहादुर श्रेष्ठ, ९ वर्षीया सावित्रा निरौला, जिमी गाउँका ६ वर्षीय लाजिहाङ जिमी, लीलादेवी भण्डारी, सुष्मा शिवा, उदय शिवा, मोतीमाया जिमी, सम्झना लिम्बु, उमेश शिवा, सुजा जिमी, सुरेन जिमी, नेत्र श्रेष्ठ, तारा कटुवाल घाइते भएका छन् ।

घाइतेमध्ये गम्भीर अवस्थाका ८ जनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । भने सामान्य घाइते ७ जनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
चानुवामा दुई दिनदेखि विद्युत अवरुद्ध थियो । विद्युत प्रहाव हुनासाथ विद्युतीय सामाग्री चार्ज गर्ने क्रममा उक्त घटना भएको प्रहरीले जनाएको छ । चानुवास्थित बाघखोरमा रहेको ट्रान्समिटरबाट प्रवाह गरिएको विद्युतमा हाइभोल्टेज प्रवाह भएको विद्युत प्राधिकरणको भनाई छ ।
हाइभोल्टेज प्रवाह हुँदा अधिकांश घरमा मोबाइल, टिभी, बत्तीलगायतका सामाग्रीमा क्षति पुगेको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । कसरी हाइभोल्टेज भयो भन्ने विषयमा अनुसन्धान भइरहेको विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले बताएको छ ।












