विराटनगर ।


हावाहुरी र भारी बर्षाका कारण बिहीबार बेलुका विधुत अवरुद्ध भएपछि विराटनगर सहित पूर्वका सवै क्षेत्रमा २१ घण्टादेखि विद्युत अवरुद्ध, हुदा विराटनगर–१० स्थित कोभिड–१९ उपचार केन्द्रमा विद्युत आपूर्ति असहज बन्दा ६ जना संक्रमितको ज्यान गएको आशंका गरिएको छ ।
अस्पतालका उपकरणहरु नचलेर संक्रमित बिरामीको ज्यान गएको हो । अस्पतालले सहज विधुत आपुर्तिको व्यवस्था नमिलाएपछि स्वास्थ्य उपकरणहरु चल्न छोडेर संक्रमितको ज्यान गएको श्रोतको दाबी छ ।तर अस्पतालले भने श्वासप्रश्वासको जटिल समस्याका कारण अक्सिजन लेभल घटेर मुटुले समेत काम गर्न छोडेपछि उनीहरुको ज्यान गएको जनाएको छ । जसमा बिहीबार बेलुका १ जना, राती करिब १२ बजे २ जना र शुक्रबार बिहान ३ जना गरि २ महिला र ४ पुरुषको मृत्यु भएको अस्पतालका चिकित्सक डा। डेनप्रसाद आर्चायले बताए ।

बिहीबार राती ११ः३५ मा विराटनगर–५ का ६५ बर्षीय पुरुष, १२ः०५ मा वडा नं.१ की ५९ बर्षीया महिला र १२ः१५ मा दमक–८ की ५८ बर्षीया महिलाको मृत्यु भएको अस्पतालको सुचना अधिकृत अनुपम राजवंशीको भनाई छ ।
उनले शुक्रबार बिहान पनि सिराहाको मिर्चैया–१ बाट आएका २७ बर्षीय पुरुष, सप्तरीको ६० बर्षीय पुरुष र भारदह–३ का ५० बर्षीय पुरुष गरि ३ जनाको ज्यान गएको जानकारी दिए । अस्पतालद्धारा जारी मृत्यु प्रमाणपत्रमा भने श्वासप्रश्वास र मुटुको समस्या कारण मृत्यु भएको उल्लेख गरिएको छ । अस्पतालको ट्रान्सफर्मरमा देखिएको समस्याका कारण विधुत आपुर्ति असहज बनेपछि संक्रमित बिरामीको ज्यान गएको श्रोतको दाबी छ ।
विराटनगरसँग जोडिएको कटहरी, जहदा, धनपालथान गाउँपालिका, रंगेली नगरपालिका, सुनवर्षी र रतुवामाई नगरपालिकामा बिहिबारराति साढे आठ बजेदेखि विद्युत अवरुद्ध रहेको सो क्षेत्रका स्थानीयले गुनासो गरेका छन् ।












