जनकपुरधाम ।


मधेश प्रदेशमा हावाहुरी सहित भएको वर्षाका कारण तीन जनाको मृत्यु भएको छ ।
बिहीबार रातिदेखि शुरु भएको वर्षा स्हितको हावाहुरीमा परी तीन जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

धनुषाको सबैला नगरपालिका -१२ स्थित फकिर चन्द उच्च माविको प्राङ्गणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षीय अरबन्दी सदाको मृत्यु भएको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिए । उनका अनुसार हावाहुरीले अचानक मसालाको रूख ढल्दा दुबै जनाको टाउकोमा चोट लागि घटनास्थलमै मृत्यु भएको थियो ।
यस्तै, रौतहटको बौधीमाई नगरपालिका -१ स्थित इँटाको घर खस्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बिहीबार साँझदेखि देशभर हल्का वर्षासँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । वर्षा र हिमपातका कारण चिसो बढेको छ । शुक्रबार बिहानैदेखि वर्षा देशका अधिकांश जिल्लामा वर्षा भइरहेको छ ।












