१७ फाल्गुन , कञ्चनरूप ।


सप्तरीको बिभिन्न स्थानमा रहेको शिवालयहरूमा भक्तजनहरूको बिहानदेखि घुइँचो लागेको छ ।
महाशिवरात्रिको अवसरमा मंगलबार जिल्लाका बिभिन्न ९५ स्थानमा रहेका शिवालयहरूमा दर्शनार्थीहरूको घुइँचो लागेको हो ।

कञ्चनरूपको भज्नेश्वर महादेव मन्दिर बलुवा , धर्मेश्वर मन्दिर धारापानी क्षेत्र धरमपुर, शम्भुनाथ नगरपालिकाको शम्भुनाथ मन्दिर, राजविराज नगरपालिकाको शिव मन्दिर, महादेवा गाउँपालिकाको अंकुरी महादेव मन्दिर, रुपनी गाउँपालिकाको शिव शनि धाम लगायतका स्थानमा बिहानैदेखि श्रद्धालु भक्तजनहरू घुइँचो रहेको थियो ।
महाशिवरात्रिको अवसरमा रातभरि धुनी जगाएर जाग्राम बस्ने पनि चलन रहेको छ भने अष्ट्याममा भजनकीर्तन पनि हुने गरेको छ ।
साथै महाशिवरात्रिका दिन पारेर सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ मटिगढाको रामजानकी बजारमा नवनिर्मित शिवालय पार्क उद्घाटन भएको छ ।। अग्निसाईर कृष्णासवरन गाउँपालिकाको ५५ लाख र मधेश प्रदेश सरकारको २० लाख गरी कूल ७५ लाखको लागतमा निर्मित पार्कको महाशिवरात्रिको अवसर पारेर मंगलबार उद्घाटन गरिएको हो ।
उक्त पार्क अग्निसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले शिवालय पार्कको उद्घाटन गरेका थिए ।












