Logo

अटल सौभाग्यको कामना गर्दै आज वटसावित्री पर्व मनाउँदै

                     
Logo १६ जेष्ठ २०७९, सोमबार ०९:००    

जेठ १६ जनकपुर ।

अटल सौभाग्यको कामना गर्दै विवाहित हिन्दू मैथिल नारीले आज बरसाइत (वटसावित्री) पर्व मनाइरहेका छन् । जेठ औंँसीका दिन

मनाइने यो पर्व सत्ययुगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासका आधारमा यो पर्व मनाउने मैथिल परम्परा छ । जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वट वृक्ष (वरको रुख) फेदमा बर्तालु मिथिलानीले सामूहिकरूपमा सावित्रीलाई सम्झँदै व्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गर्दै यो पर्व मनाउँछन् ।

बर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ । यसपालि भने कोरोना सन्त्रास छल्न जारी निषेधाज्ञाभित्रै मिथिलानीले घरघरमै बर्साइत मनाउने तयारी गरेका छन् । पर्वमा वट वृक्षको महत्व हुने हुँदा घरमै गमलामा सजाइएको वरको बिरुवामा पूजा गर्ने तयारी देखिएको छ ।

सावित्रीले आफ्नो तपोबलले इष्टदेव रिझाएर ढलेका (अचेत भइ ढलेका, कतिपय सन्दर्भमा मृतजस्तै पनि भनिएको छ ) आफ्ना पति सत्यवान्लाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा रहेको छ । वरको रुखमा व्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको बास हुने मैथिल जनविश्वासअनुसार यो पर्वको सङ्कल्प, पूजाआराधना र समापन पनि वरकै रुख तल सम्पन्न गरिने परम्परा रहेको छ ।

नयाँनयाँ वस्त्र परिधानमा सजिएर वटवृक्ष परिसर सरसफाइ गर्नेदेखि औँसीका दिन सावित्री कथा वाचन र श्रवण गर्ने यो व्रत परम्परा छ । साथीसङ्गीसँग नाच्दै, गाउँदै वट वृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीहरुका लागि भेटघाट, हँसीमजाक र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने गरिन्छ ।

मिथिलामा केही वर्ष पहिलेसम्म व्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने यो पर्व अब सबै जातजातिले मनाउन थालेका छन् । मिथिलामा पछिल्लो समयमा विभिन्न जातजातिको छ्यासमिसे बस्ती बढ्ने क्रमले एकअर्काको संस्कृति परम्परा सिक्ने क्रममा यो पर्व सबै जातजातिले मनाउन थालेका छन ।


लोकप्रिय छुटाउनुभयो कि ?