Logo

कञ्चनरूप मंगले दमाइ घर नक्सा  अभिलेखीकरण नगरिदिएको भन्दै पत्रकार महासंघ देखी प्रजिअ सम्म पुगे

                     
Logo ३१ असार २०७९, शुक्रबार ०७:४०    

३० असार ,कञ्चनरूप ।

सप्तरीको कञ्चनरूप नगरपालिका ४ निवासी ६० वर्षीय मंगले दमाईको घरको नक्सा नगरपालिकाका कर्मचारीले पास नगरिँदा न्यायका लागि सञ्चारकर्मी समक्ष आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ सप्तरीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै दमाईले कपडा सिलाउने घरेलु उद्योग सञ्चालन गरी ५० जनालाई रोजगारी दिँदै आएकोमा अहिले आफ्नो घरको नक्सा पास नहुँदा उद्योग नै बन्द हुने अवस्थामा पुगेको गुनासो गरेका छन् ।

पत्रकार सम्मेलन गर्दै कञ्चनरूप नगरपालिका नक्सा उपशाखाका इन्जिनियर सुजित कुमार साहलाई मागेजति रकम बुझाउन नसक्दा घर नक्सा  अभिलेखीकरण गर्न आलटाल गरेको आरोप लगाएका हुन् ।

उनले नगरपालिकाबाट भुईँ तल्लाको नक्सा पास भइसकेको अवस्थामा थप एक तल्ले घर निर्माण गरेपछि सो तल्लाको नक्सा पास गर्न जाँदा भुँई तल्लाको नक्सा समेत नक्सा उपशाखाका इन्जिनियर सुजित कुमार साहले काटकुट पारिदिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

सात धुर जग्गामा उनले २०७३ साल भदौ १५ गते भुईँ तल्ला भवन निर्माण गराई नगरपालिकामा अभिलेखीकरण गराएका थिए । थप तल्ला निर्माणको अभिमुखीकरणका लागि नक्सा फाँटको आदेशानुसार ४४ हजार ८० रुपैयाँ राजस्व समेत बुझाइसक्दा पनि नक्सा पास नगरिदिएको र आफूसँग भएको भुँई तल्लाको पुरानो पास भएको नक्साको प्रमाणपत्र समेत काटकुट पारिदिएको उनले गुनासो पोखेका छन् ।

२०७९ जेठ २० गते उनले घर नक्सा शाखाका इन्जिनियर साहको आदेशमा उक्त रकम नगरपालिकाको खातामा जम्मा गरेको सुनाए । नक्सा पासका लागि नगरपालिकाबाट खटिएका सबइन्जिनियर सञ्जय कुमार विश्वास, खरिदार शिव नारायण यादव र अमिन मनोज कुमार यादवको टोलीले थप गरिएको भवनको नक्सा पास गर्न मिल्ने भनी सिफारिस गरेपछि इन्जिनियर साहले उक्त राजश्व रकम दाखिला गर्न लगाएको उनको भनाई छ ।

उनले इन्जिनियर साह आफ्नो छिमेकी रहेको समेत सुनाए । घर नजिकैको ४ कठ ४ धुर खेती योग्य जग्गा किन्ने विषयमा इन्जिनियर साह र आफूबीच केही समयअघि विवाद भएको र सोही रिसइबीले हाल आएर आफूलाई दुःख दिन खोजिएको उनको भनाई छ ।

उनले यसबारे नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई गुहार्दा उनीहरूले पनि इन्जिनियर साहलाई नक्सा पास गरिदिन निर्देशन दिएपनि विभिन्न बहाना देखाई आलटाल गर्ने गरेको बताए ।

यसै गरी दमाई ले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम समक्ष पनि  सो घटनाको अवगत गराएका थिए । प्रजिअ गौतमले  सो सम्पूर्ण अधिकार सोही नगरपालिकाकै हो तर सम्पूर्ण कागजात हेर्दा प्रक्रिया पुर्याकै देखिन्छ । तसर्थ यसबारे अझै एक पटक नगरपालिका पहल गर्न आग्रह गर्नु त्यस पछि पनि नभएमा न्यालयको बाटो अवलम्वन गर्न दमाईलाइृ सुझाव दिए ।   


लोकप्रिय छुटाउनुभयो कि ?