Logo

राजविराजका नगरप्रमुख भीमराज यादव निलम्बित, अख्तियारद्वारा आरोपपत्र दायर

                     
Logo २९ असार २०७९, बुधबार २०:११    

राजविराज  २९ गते ।

सप्तरीको राजविराज नगरपालिकाका नगरप्रमुख भीमराज यादवसहित ६ जनामाथि अख्तियारद्वारा आरोपपत्र दायर भएको छ ।

सप्तरीको राजविराजस्थित राजरंगशालाको निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजविराज नगरपालिकाका नगरप्रमुख भीमराज यादव ,उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठ ,जिल्ला विकास समिति सप्तरीका तत्कालीन इन्जिनियर विकास श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका तत्कालीन प्रमुखद्वय लक्ष्मण मण्डल र महेन्द्रप्रसाद यादव, समितिका अध्यक्ष एजेट न्यासुर र उपाध्यक्ष धिरेन्द्र बर्मा विरुद्ध आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन ।

आर्थिक वर्ष ०७३/७४ मा राजरंगशालाको स्तरोन्नतिका लागि भएको निर्माण कार्यमा नगरप्रमुख समेत रहेका न्यु गहिल कन्ट्रक्सनका सञ्चालक भीमराज यादव सहित ६ जनामाथि बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारले आरोपपत्र दायर गर्ने बित्तिकै सार्वजनिक पद धारण गर्ने व्यक्तिको पद स्वतः निलम्बन हुने कानुनी व्यवस्था रहे बमोजिम नगरप्रमुख यादव बुधबारदेखि निलम्बनमा परेको प्रवक्ता भण्डारीले बताए  ।

सञ्चालक यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८९४० बमोजिमको कसुर गरेको पुष्टि हुन आएको भन्दै कन्स्ट्रक्सन र सञ्चालक यादवको हकमा २ लाख ६३ हजार ४६८ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८९४० अनुसार कैद एवं जरिवाना र बिगो जफत गर्न माग गरिएको छ ।

त्यसैगरी अख्तियारले रंगशालाको स्तरन्नोति काममा अनियमितता गरेको भन्दै उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठलाई १० लाख ६३ हजार ९६२, जिल्ला विकास समितिका तत्कालीन इन्जिनियर विकास श्रेष्ठ विरुद्ध १३ लाख २७ हजार ४३०, जिल्ला खेलकुद विकास समिति, सप्तरीका तत्कालीन प्रमुख लक्ष्मण मण्डल बिरुद्ध ५ लाख ६९ हजार, ८१० बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जिल्ला खेलकुद विकास समितिका तत्कालीन कार्यालय प्रमुख महेन्द्रप्रसाद यादव बिरुद्ध ७ लाख ५७ हजार ६२०, जिल्ला खेलकुद विकास समितिका तत्कालीन अध्यक्ष एजेट न्यासुर विरुद्ध १३ लाख २७ हजार ४३० र तत्कालीन उपाध्यक्ष धिरु बर्मा विरुद्ध २ लाख बिगो कायम गरी मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

न्यू गहिल कन्स्ट्रक्सनका सञ्चालक यादव ३० वैशाखमा भएको पालिका निर्वाचनमा जनता समाजवादी पार्टीको तर्फबाट मेयरमा निर्वाचित भएका हुन ।

 


लोकप्रिय छुटाउनुभयो कि ?