राजविराज ।


सप्तरीको राजविराजमा महिलाहरूको अर्थपूर्ण सहभागिता सम्बन्धमा छलफल कार्यक्रममा दलमा गुट उपगुट कायम रहेको र गुटको निर्णय सबैले मान्नुपर्ने बाध्यताका कारण महिलाहरू राजनीतिक दलको निर्णायक तहमा पुग्नबाट बञ्चित रहँदै आएको गुनासो पोखेका छन् ।
उनीहरूले सबै निर्णय गर्ने ठाउँमा महिलाको पहुँच नभएको कारण महिलाहरूको अर्थपूर्ण सहभागिता नहुने गरेको महिला महासंघ र संकल्प नेपालको सहयोगमा परिकल्पना नेपालले मंगलबार राजविराजमा आयोजित कार्यक्रममा विभिन्न दलबाट सहभागि महिला नेतृहरूले निर्णायक ठाउँमा महिला पुगे प्रत्यक्ष चुनावमा टिकट लिएर प्रतिस्पर्धा गर्न तयार रहेको बताएका हुन् ।

राजविराज नगरपालिकाका कार्यवाहक मेयर इससरत प्रवीणले महिलाको अर्थपूर्ण सहभागिताको लागि पहिला आफै आत्मनिर्भर बन्नु पर्ने बताइन् । ‘तपाइमा क्षमता छैन् भने पार्टीले किन टिकट दिएर उम्मेदवार बनाउँछन् ।
एमाले नेतृ तथा प्रतिनिधिसभा सदस्य सरिता गिरीले निर्णय गर्ने स्थान सम्म पहुँच बनाउन महिलाले आ–आफ्नो दल भित्र संघर्ष गर्नुपर्ने बताइन् । ‘संघर्ष नगरे केही उपलब्धि हुँदैन, तर त्यो सँगै सबल र सचेत बन्नुका साथै शिक्षित एवं क्षमतावान पनि बन्नु जरुरी छ’ उनले भनिन् ।
मधेश प्रदेशका प्रदेशसभा सदस्य गीता यादवले सम्पत्तिको अधिकार नभए सम्म निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता नहुने बताइन् । उनले आउने चुनावमा आ–आफ्नो दलभित्र संघर्ष गरेर प्रत्यक्षमा चुनाव लड्न महिलाहरूलाई आग्रह गरिन् ।
कार्यक्रममा संविधानसभा सदस्य मुन्नी गुप्ता, कृष्णासवरण गाउँपालिकाका पूर्व उपाध्यक्ष मिना चौधरी, जनमतका पार्टीका ममता झा, लोसपाका पुनम यादव, अधिवक्ता मनु खनाल, नेकपा माओवादीका रुबी झा, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष अम्बिका दहाल, पार्वती राउत सहितका महिलाको अर्थपूर्ण सहभागिता सन्दर्भमा आफ्नो विचार राखिन् । ४० जना महिला नेतृहरूको सहभागि रहेको थियो ।












