Logo

समाचार सङ्कलनमा पत्रकारलाई सशस्त्र प्रहरीको अवरोध 

                     
Logo २९ आश्विन २०७९, शनिबार २०:२०    

 

राजविराज ।

सशस्त्र प्रहरीका असई सत्यनारायण यादवको हत्या प्रकरणको समाचार सङ्कलनमा खटिएका सप्तरीका सञ्चारकर्मीहरूलाई आज साँझ सशस्त्र प्रहरीले अवरोध गरेको छ ।

आज शनिबार साँझ घटनास्थल पुगेर फर्किएका सञ्चारकर्मीहरूको एक टोलीलाई सशस्त्र प्रहरीले समाचार सङ्कलनमा अवरोध पुर्याएको छ । सो टोली घटनास्थलबाट फर्किएर राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ पुगेका थिए ।

गणको अगाडिबाट तस्बिर खिच्नका टोलीका एक सञ्चारकर्मीले एसपी खड्कालाई टेलिफोनमार्फत आग्रह गर्दा बाहिरबाट समेत तस्बिर खिच्न मिल्दैन् भनेर एसपी खड्काबाट प्रतिक्रिया पाएको नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष वैद्यनाथ यादवले जानकारी दिए ।

‘एसपीबाटै त्यस्तो प्रतिक्रिया आइसकेपछि हामी फर्किए’ उनले भने, ‘यो कार्य सरासर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो ।’

नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवणकुमार देवले सञ्चारकर्मीलाई तस्बिर खिच्नबाट निषेध गर्नु दुःखद रहेको बताए । ‘प्रहरीबाटै त्यस्तो घटना हुनु दुःखद हो । संवैधानिक अधिकारको सम्मान गर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने, ‘घटनाको भर्त्सना गर्दछु र प्रहरी प्रशासनलाई सचेत हुन आग्रह छ । अन्यथा महासंघ चुप लागेर बस्ने छैन् ।’

टोलीमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष समेत रहेका अनलाइन खबरका श्रवणकुमार यादव, कान्तिपुर पत्रिकाका अवधेशकुमार झा, एभिन्युज टेलिभिजनका यादव, कान्तिपुर टेलिभिजनका रामनारायण विश्वास, नेपाल समाचारपत्रका विद्यानन्द राम र नयाँ पत्रिकाका सौरभ यादव सहभागी थिए ।

सशस्त्र प्रहरी हेडक्वार्टरका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले माथिबाट त्यस्तो कुनै आदेश नरहेको प्रक्रिया दिए । ‘तस्बिर खिच्न चैं नमिल्ने होइन र माथिबाट त्यस्तो कुनै आदेश पनि छैन्’ उनले भने, ‘तलकाले नबुझेर त्यस्तो भएको हुनसक्छ ।’

सप्तरी स्थित बोर्डर आउट पोष्ट (बीओपी) छिन्नमस्तामा कार्यरत असई सत्यनारायण यादवको सहकर्मीकै संलग्नतामा भएको हत्या आशंका गरी अनुसन्धान जारी रहेको छ ।

असोज २० गते दिउँसो असई यादवको शव सीमावर्ती बिहार राज्यको मधुवनी जिल्ला अन्तर्गत जिरोगा अर्नामा स्थित घोडदह खोलामा भेटिएको थियो । सो घटनामा सोही बीओपीमा कार्यरत सशस्त्रका जवान होमबहादुर खत्रीलाई नियन्त्रणमा लिइएको छ भने राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्रका प्रहरी उपरीक्षक (एसपी) प्रदीप खड्का पनि हेडक्वार्टर तानिएको छ ।

यता, नेपाल प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ भने उता घटना छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वार्टरले पनि सशस्त्रका कार्य विभाग प्रमुख एआईजी चन्द्रप्रकाश गौतमको नेतृत्वमा तीन सदस्यीय समिति बनाएर छानबिनमा जुटेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?