कञ्चनरूप । मंसिर ४ सम्पन्न आम निर्वाचनको सप्तरीका चारै प्रतिनिधि सभा र आठ वटै प्रदेश समा निर्वाचित उम्मेदवारहरूको विवरण सार्वजनिक भइसकेको छ ।


जिल्लामा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेस २ क्षेत्रमा जित हात पारेको छ भने जनता समाजवादी पार्टी एक र जनमत पार्टी एक क्षेत्रमा जित्न सफल भएको छ । त्यसैगरी प्रदेशसभा सदस्यमा जनमत पार्टी ४ क्षेत्रमा जितेको छ भने एमाले एक, नेपाली कांग्रेस एक नेकपा एस एक र स्वतन्त्रले एक क्षेत्रमा जितका छन ।
सप्तरी क्षेत्र नम्बर १बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा)का नवलकिशोर साह २३ हजार ६०४ मत ल्याई निर्वाचित भए भने प्रदेश सभा सदस्यमा क्षेत्र नम्बर १ (क)बाट नेकपा एमालेका राजकुमार लेखी १४ हजार २९१ मत ल्याई प्रदेशसभा सदस्य पदमा निर्वाचित हुँदा क्षेत्र नम्बर १ (ख)बाट जनमत पार्टीका सकिल मियाँ १६ हजार १५५ मत ल्याई निर्वाचित भए ।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत ३५ हजार ४२ मत प्राप्त गरी निर्वाचित भए भने प्रदेस सदस्यमा क्षेत्र नम्बर २ (क)बाट जनमत पार्टीका सतिशकुमार सिंह १६ हजार ७३४ मत पाई निर्वाचित हुदा क्षेत्र नम्बर २ (ख)बाट जनमतकै पार्टीका महेशप्रसाद यादव १३ हजार ३२५ मत प्राप्त गर्दै निर्वाचित भए ।
यसैगरी सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दिनेशकुमार यादव २६ हजार १६६ मत ल्याई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा क्षेत्र नम्बर ३ (क)बाट कांग्रेसका मोहम्मद समिम १० हजार ६३० मत प्राप्त गर्दै निर्वाचित भए भने क्षेत्र नम्बर २ (ख)बाट जनमतका शम्भुकुमार साह १० हजार ८६२ मत ल्याई निर्वाचित भए ।
त्यसैगरी सप्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका तेजुलाल चौधरी २३ हजार ४९१ मत ल्याई तेस्रोपटक सांसदमा निर्वाचित हुदा क्षेत्र नम्बर ४ (क)बाट नेकपा ( एकीकृत समाजवादी) का गोविन्दबहादुर न्यौपाने १४ हजार ४२९ मत ल्याई दोस्रोपटक निर्वाचित भए भने क्षेत्र नम्बर ४ (ख)बाट स्वतन्त्र उम्मेदवार अनिरुद्धप्रसाद सिंह नौ हजार ९८५ मत ल्याएर निर्वाचित भएका छन ।
सप्तरीबाट प्रदेशसभा सदस्य पदमा दोस्रो पटक निर्वाचित हुनेमा नेकपा (एकीकृत समाजवादी) का गोविन्दबहादुर न्यौपाने रहेकाछन् भने उनी २०७४ सालमा एमालेबाट १५ हजार ११३ मत प्राप्त गरी निर्वाचित भएका थिए । त्यस्तै दोस्रो पटक निर्वाचित हुनेमा नेपाली कांग्रेसका मोहम्मद समिमले २०७४ सालमा ११ हजार ६२८ मत प्राप्त गरी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
२०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम दुई , राजपा, एक र नेपाली कांग्रेसले एक क्षेत्रमा जितेका थिए भने प्रदेशसभा सदस्य तर्फ राजपा ३ क्षेत्र , एमाले २ क्षेत्र, संघीय समाजवादी फोरम २ क्षेत्र र नेपाली कांग्रेसका १ क्षेत्रमा निर्वाचित भएका थिए ।












