Logo

पाँच दिवसीय श्रव्यदृश्य छायाङ्कन तथा सम्पादन सम्बन्धी प्रशिक्षण सम्पन्न 

                     
Logo २९ बैशाख २०८०, शुक्रबार २०:०३    

कञ्चन२४ सम्वाददाता ९ वैशाख, जनकपुरधाम । आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा पाँच दिवसीय श्रव्यदृश्य छायाङ्कन तथा सम्पादन सम्बन्धी प्रशिक्षण जनकपुरधाममा सम्पन्न भएको छ ।

पत्रकारितामा श्रव्यदृश्य सामग्रीको प्रयोग र महत्व, सामग्री उत्पादनका चरण–पूर्व तयारी, प्रोडक्सन, पोस्ट प्रोडक्सनको चरण, एचडीफोरके फर्म्याट, श्रव्यदृश्य (भिडियो) छायाङ्कन र सम्पादनका लागि प्रयोग हुने उपकरण, सूचना सङ्कलनका सन्दर्भमा छायाँङ्कनको अर्थ र महत्व, छायाँङ्कन र क्यामेरा, छायांकन का लागि क्यामेराको प्रयोग, छायाङ्कनको महत्व र प्रयोग, भिडियो सट, वृत्तचित्रको परिचय, तत्व, अन्तर्वार्ता सहितका विषयमा प्रशिक्षण दिइएको प्राधिकरणका प्रशासकीय प्रमुख उपेन्द्र कुमार सिंहले जानकारी दिएका छन् । उनका अनुसार श्रव्यदृश्य (भिडियो) छायांकन सन्दर्भमा पिटिसीको प्रयोग, भिडियो सम्पादन गर्दा ध्यान पुरयाउनु पर्ने पक्ष, टेलिभिजनमा रिपोर्टको परिचय, महत्व, विषय छनौट तथा स्क्रिप्ट तयारी एवम् भ्वाइस ओभर, राम्रो भिडियोका लागि राम्रो ध्वनि, भिडियो स्ट्यान्डर्ड, पत्रकार आचारसंहिताको विषयमा सहभागीहरूलाई प्रशिक्षण दिइएको छ ।

तालिमका सहभागीहरूले श्रव्यदृश्य छायाङ्कन तथा सम्पादन सम्बन्धी तालिम फलदायी रहेको सहभागी चाँदनी झाले बताइन् । आफू सञ्चारमाध्यमहरुमा कार्यरत रहँदै आएकोमा यो तालिमले गुणस्तरीयता अभिवृद्धिमा मद्दत पुग्ने उनले विश्वास व्यक्त गरिन् । यसैगरी सहभागी प्रेमशीला यादवले समेत तालिमका क्रममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गरिन् ।

तालिमको मुख्य प्रशिक्षकमा नेपाल टेलिभिजनमा कार्यरत छायाङ्कन तथा दृष्य सम्पादक अशोक बस्नेत रहेका थिए । तालिमको प्रभावकारिताबारे अनुगमन एवम् निरीक्षण गर्दै मधेश प्रदेश सरकारका अर्थ मन्त्री एवम् प्रवक्ता सञ्जय कुमार यादवले पत्रकारिता क्षेत्रको विकास गर्न आफूहरू प्रतिवद्ध रहेको बताए । तालिमका क्रममा मधेश प्रदेशसभा सदस्य रामअशिष यादव, मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरी, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष राजेश कुमार कर्ण, आमसञ्चार प्राधिकरणका सदस्यद्वय प्रतिमा चौधरी, अमरेन्द्र यादव, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य एवम् नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष अनिल मिश्र, सामुदायिक रेडियो प्रसारक संघ मधेश प्रदेश प्रदेशका अध्यक्ष मनोज कुमार यादव, महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झा, अर्थमन्त्रीका प्रेस संयोजक शिव अधिकारी यदुवंशी, अजय साह शिवाली, अनिल कर्ण सहितका व्यक्तिहरूले प्रशिक्षण सहितको अनुभव साझा गरेका थिए ।

प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा सम्पन्न तालिममा मधेश प्रदेशका जिल्लाबाट २२ जना मिडियाकर्मीको सहभागिता रहेको थियो ।  


लोकप्रिय छुटाउनुभयो कि ?