कञ्चनरूप । जिल्लाको कञ्चनरूप नगरपालिका वडा नं. ९ स्थित सुन्दरी खोलामा हत्या गरि फालिएका राहुल चौधरीको घटनामा प्रहरीले वडा नं.७ बलुवाका पशुपति रामलाई पक्राउ गरेको छ ।


मृतकको बारेमा अनुसन्धान गर्दा गत भदौ २१ गते निज मृतक सँगै कञ्चनरूप वडा नं. ६ बस्ने पशुपति रामसँगै रहेको भन्ने खुल्न आएको थियो । प्रहरीले पशुपति रामलाई असोज ४ गते नियन्त्रणमा लिई अनुसन्धान गर्दा निजले मृतकको घडी र मोबाइल तथा आर्थिक प्रलोभनमा परी मृतक राहुल कुमार चौधरीलाई भारत तर्फ लगी लागू औषध खरिद गरी घटनास्थलमा ल्याई अत्याधिक मात्रामा लागू औषध सेवन गराई बेहोस बनाई पुन लागू औषध जबरजस्ती मुखमा राखी खुवाई निजको हत्या गरेको बयान दिएको डीएसपी नेउपानेले जनाएका छन ।
अनुसन्धान गर्दा रामले औषध जबरजस्ती मुखमा राखी खुवाई निजको हत्या गरेको, मृत्यु पश्चात निजको सम्पूर्ण कपडा खोली निजको साथमा रहेको मोबाइल र घडी लुटी लिई घर तर्फ आएको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ ।

अभियुक्त पशुपति रामलाई पक्राउ गरी मंगलबार सप्तरी जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।
गत भदौ २१ गते सप्तरी कञ्चनरूप नगरपालिका वडा नं.७ बलुवाका राम कुमार चौधरीको छोरा वर्ष २५ को राहुल कुमार चौधरी नाङ्गो अवस्थाको शंकास्पद प्रकृतिको मृतक लाश फेला परेका थिए ।












