राजविराज । सप्तरीमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम अविलम्व सञ्चालनको माग गर्दै स्थानीय बासिन्दाहरू रिले अनशनमा बसेका छन् भने बुधवार राजबिराजमा सप्तरी युथ नेपालको अगुवाइमा निर्माणको माग गर्दै नगरको परिक्रमा प्रदर्शन भएको छ ।


रामराजा प्रसाद सिह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढ्न नसकेको भन्दै स्थानीयवासीले थालेको अनिश्चितकालीन रिले अनशनलाई समर्थन जनाउदै राजविराजमा बुधबार ऐक्यबद्धता ¥याली प्रदर्शन गरिएको छ । सप्तरी युथ नेपालको नेतृत्वमा राजविराज नगरपालिका १० स्थित बिरौलमा गत शुक्रबारदेखि स्थानीयले थालेको रिले अनशनलाई समर्थन गर्दै ऐक्यबद्धता ¥याली निकालेको छ ।
प्रतिष्ठानको निर्माणको कार्य ठप्प पार्दै अन्य काम समेत रोकिएकोले अविलम्ब कामकाज सुचारु गर्नुपर्नेलगायतका विभिन्न पाँच सूत्रीय माग राखी अनशन सुरु गरेको संघर्ष समितिका संयोजक दासले बताए ।

६२ बिघा जग्गा प्रतिष्ठानले घेरेको जानकारी दिदै उनले ठुलो एरिया जग्गा खाली भएको हुँदा टोलमा डर लाग्दो अवस्था सिर्जना भएको बताए । ठुलो क्षेत्र जग्गा ओगटेर कामकाज सञ्चालन नरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।
शान्तिपूर्ण रुपमा माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिनै आन्दोलनका संयोजक समेत रहेका दासले स्थानीयको संघर्षको कार्यक्रममा पत्रकार, समाजसेवी, बुद्धिजीवी, व्यापारी, राजनैतिक दल, संघसंस्था, शिक्षा प्रेमी, स्वास्थ्यकर्मी, विभिन्न पेशाकर्मी लगायतका आम जनतालाई सहभागी भई सहयोगका लागी आग्रह समेत गरे ।
सप्तरी सहित अन्य जिल्लाहरूको आर्थिक, सामाजिक शैक्षिक लगायतका वृहत हित गर्ने प्रतिष्ठानको कामकाज अविलम्ब चालू गर्नुपर्ने, नेपाल सरकार मन्त्री परिषदको निर्णयबाट गठन आदेश बमोजिम गठित पूर्वाधार विकास निर्माण समितिको म्याद थप गर्नुपर्ने, प्रतिष्ठानको अध्यक्ष लगायत कर्मचारीहरू तुरुन्त नियुक्त गर्नुपर्ने, प्रतिष्ठान निर्माणका लागि तुरुन्त आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने, प्रतिष्ठानको विस्तृत परियोजना प्रतिवेदन बमोजिम निर्माणलगायतका अन्य कामहरू अविलम्ब सुचारु गर्नुपर्ने माग राखी अनिश्चितकालीन अनशन सुरु गरेको स्थानीयले जनाएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजविराज नगरपालिका वडा नम्बर १० बिरौल स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान शिलान्यास गरिएको थियो । २२ असार २०७८ मै ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेपनि काम अझै अघि बढ्न सकेको छैन् ।
प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर बनाउने बाहेक अन्य काम अघि बढ्न सकेको छैन् ।
काम अघि बढ्न नसक्दा सप्तरी युथ नेपालको अगुवाइमा बुधबार बिहान राजविराजमा प्रदर्शन गरिएको छ । युवाले सप्तरीको विकासमा जिल्लावासी एकजुट हौं, विज्ञान प्रतिष्ठानको निर्माण अविलम्ब सुचारु गर, राजनीतिकभन्दा एक कदम माथि उठ’ जस्ता नारा लगाएका छन् ।
उता काम अघि बढ्न नसकेपछि स्थानीयले एकसातादेखि अनिश्चितकालीन रिले अनशन शुरु गरेका छन् । स्थानीयले रामकुमार दासको नेतृत्वमा संर्घष समिति बनाएर २४ घण्टे रिले अनशन शुरु गरेका हुन् ।












