कञ्चनरूप । राजविराज नगरपालिकाको २०८०/०८१ को बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।


कार्यक्रममा राजविराज नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ८ का वडा अध्यक्ष जयनारायण मण्डलले आर्थिक बर्ष २०८०र०८१ लागि नगरसभाबाट पारित विनियोजन विधेयक २०८० मा समावेश १ अर्ब ११ करोड ३२ लाख ७८ हजारको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरे ।
विनियोजन विधेयक प्रस्तुत गर्दै प्रवक्ता मण्डलले नगरपालिकाको आर्थिक बर्ष २०७८/०७९ र ०७९/०८० मा सम्पन्न गरेका तथा भुक्तानी नपाएका योजनाहरूको लागि १४ करोड बजेट विनियोजन गरेको बताए ।

कार्यक्रममा बोल्दै कार्यवाहक नगरप्रमुख इसरत परविनले विगतमा सम्पन्न कामको भुक्तानी गर्ने किसिमले दायित्व मुक्त नगरपालिका बनाउने उद्देश्यको साथ बजेट नीति तथा कार्यक्रम ल्याइएको बताइन् ।
उनले काम गरेको पैसा दिनुपर्छ भन्ने मान्यताको साथ बजेट ल्याएको स्पष्ट पारिन् । त्यसका लागि कामको पुनः मूल्यांकन तथा अनुगमन गर्ने बताउँदै कार्यवाहक नगरप्रमुख परविनले भुक्तानी पारदर्शी बनाउन पत्रकारहरूलाई साथ सहयोगका लागि आग्रह गरिन ।
कार्यवाहक नगरप्रमुख परविनले आर्थिक विकास तर्फ कृषि, पशुपक्षी, रोजगार तथा आप्रवासन, पूर्वाधार, बन, वातावरण तथा विपद व्यवस्थापनलाई प्राथमिकता दिएको बताइन् । यसैगरी सामाजिक विकास तर्फ शिक्षा, स्वास्थ्य, महिला बालबालिका दलित, आदिवासी जनजाति, मधेशी, पिछडा बर्ग, हरुवाचरुवा, ज्येष्ठ नागरिक अपांगता भएकाहरूको उत्थान तथा विकासलाई बजेटले जोड दिएको उनले बताइन् ।












