कञ्चनरूप । सिरहा नगरपालिकामा पर्ने सन्हैठामा दुई मोटरसाइकलमा आपसमा ठोक्किँदा एकै वडाका तीन जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।


हुलाकी सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स २ प ४७३१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको प्रदेश २(०१(००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो ।
उक्त घटनामा तीन जनाको मृत्यु र एकजना घाइते भएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार अर्नामा गाउँपालिका ५ का २७ वर्षीय दिनेश कुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेश सिंहको मृत्यु भएको छ । सोही ठाउँका १५ वर्षीय युवराज कुमार यादव गम्भीर घाइते भएका छन् ।
घाइते युवराजको उपचार सिरहा प्रादेशिक अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल रेफर गरिएको डीएसपी पाण्डेले जानकारी दिए । को कुन मोटरसाइकलमा सवार रहेको कुरा खुल्न सकेको छैन् । तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर ठोक्किएको हुनसक्ने प्रहरीको अनुमान छ ।












