राजविराज । सप्तरीका पत्रकार तथा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष शुभचन्द्र झाको स्मृतिमा परिषदले एक लाख रुपैयाँको अक्षयकोषको स्थापना गर्ने भएको छ ।


वर्तमान मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश कुमार झाले स्वर्गीय शुभचन्द्र झाको एघारौं दिनको पुण्यतिथिमा शनिबार आयोजना गरेको शोक सभामा यस्तो बताए बताए ।
मैथिली क्षेत्रमा स्वर्गीय झाको योगदान बारे चर्चा गर्दै अध्यक्ष झाले ११ हजार नगद राशीको शुभचन्द्र झा स्मृति मैथिली, भाषा, कला, संस्कृति पुरस्कार स्थापना गरिने बताए । उनले उक्त पुरस्कार प्रत्येक वर्ष मैथिली क्षेत्रमा योगदान पुर्याउने एक व्यक्तिलाई प्रदान गरिने बताए ।

कार्यक्रममा बोल्दै वक्ताहरूले स्वर्गीय झा बहुआयामिक व्यक्तित्व रहेको उल्लेख गरेका थिए । उनीहरूले स्वर्गीय झाको मैथिली अभियानमा रहेको योगदान सदैव अविस्मरणीय रहने बताए ।
कार्यक्रममा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्षहरू विष्णु मण्डल, देवेन्द्र मिश्र, विवेकानन्द मिश्र, सतिश दत्त, पूर्व सचिव श्यामसुन्दर झा, अजय झा, पत्रकार महासङ्घको पूर्व अध्यक्ष बैद्यानाथ झा, पत्रकार महासङ्घका अध्यक्ष श्रवण देव, प्रेस युनियनका अध्यक्ष विनय कर्ण, प्रेस मञ्चका अध्यक्ष भुषण सिंह, साहित्य परिषद्का वर्तमान कार्यसमिति उपाध्यक्ष राजकुमार लाल दास, सदस्य राजिव झा, गजेन्द्र मण्डल, युवा नेता निरज मुक्ति, सप्तरी युथका कार्यवाहक अध्यक्ष मोहन यादव लगायतका वक्ताहरूले शोक मन्तव्य राखे । कार्यक्रममा परिषदका कार्यसमिति सदस्य रवि राय, रमिला साह, मैथिली साप्ताहिक पत्रिकाका सम्पादक जितेन्द्र झा लगायत राम्रो सङ्ख्यामा मैथिली प्रेमीहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रम परिषदकी सहसचिव ललिता झाले सञ्चालन गरेकी थिइन् ।
स्वर्गीय झा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व कोषाध्यक्ष, मैथिली मिडिया प्रालिका अध्यक्ष, मैथिली अभियानी तथा समाजसेवी थिए ।
त्यसै गरी पत्रकार एवम् साहित्यकार झाको कार्तिक २९ गते ५५ वर्षको अल्पायुमा निधन भएको थियो ।












