Logo

बारामा प्रहरीको गोली लागेका घाइतेको मृत्यु

                     
Logo २७ मंसिर २०८०, बुधबार २१:०३    

बारा । बारामा प्रहरीको गोली लागेर घाइते भएका व्यक्तिको मृत्यु भएको छ । बुधबार शिक्षक तथा कर्मचारीको आन्दोलनका क्रममा सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबीच झडप हुँदा प्रहरीले अश्रुग्याँससँगै गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर घाइते भएकी लक्ष्मी मुखियाको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

नगरपालिकामा ५ महिनादेखि नगर अस्पताल बन्द छ भने एक सातादेखि सामुदायिक विद्यालयहरूमा पठनपाठन ठप्प छ । शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीले १४ महिनायता सेवासुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । सोहीक्रममा बुधबार पनि कर्मचारीले प्रदर्शन गरिरहेका छन् ।

बुधबार नगरपालिका कार्यालय पुगेका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई आन्दोलनरत कर्मचारी र शिक्षकले आक्रमणको प्रयास गरेका थिए। उनीहरूले मेयरको गाडीमा तोडफोड गरे।

त्यहीबेला प्रहरी र आन्दोलनरत कर्मचारी र शिक्षकहरूबीच धकेलाधकेल भएको थियो, प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिएको थियो। तर पछि आन्दोलनकारीहरूले थप दबाब बढाएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन टियर ग्यास र हवाई फायर गरेको थियो।

एसपी सुरेन्द्रप्रसाद काफ्लेका अनुसार प्रहरीले २०–२५ राउन्ड टियर ग्यास र हवाई फायर गरेको थियो। आन्दोलनकारीको ढुंगा प्रहारबाट १० प्रहरी घाइते भएका छन्। आन्दोलनका कारण दुई महिनायता नगरपालिकाबाट नियमित सेवा प्रवाह हुन सकेको छैन।

मेयर साह लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका हुन् भने नगरसभामा नेपाली कांग्रेसको बहुमत छ। यसअघि मेयर साहले नगरसभा सम्पन्न भएको भनेर सार्वजनिक गरे पनि कांग्रेसका जनप्रतिनिधिहरूले भने नगरसभा नभएको भन्दै विरोध जनाउँदा विवाद छ।


लोकप्रिय छुटाउनुभयो कि ?