काठमाडौं । कक्षा ११को नयाँ पाठ्यक्रम लागू गर्ने मन्त्रिपरिषद्ले गत २२ चैतमा गरेको निर्णय अनुसार यही शैक्षिक शत्रबाट कक्षा १ र ११ का लागि नयाँ पाठ्यक्रम लागू गर्ने तालिका रहेको छ । सोही तालिका अनुसार पाठ्यक्रम विकास केन्द्र सानोठिमीले कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्ने तयारी लगभग पूरा भएको जनाएको छ ।


पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव प्रसाद दाहालले मूल तथा ऐच्छिक गरी ८५ वटा विषयमा पाठ्यक्रम बनेर स्वीकृत भइसकेको र अब २२ वटा बाँकी रहेको जानकारी दिए । ‘जनक शिक्षा सामग्री केन्द्रमा पाठ्यपुस्तक छपाउने क्रम शुरु भइसकेको छ,’ उनले भने, ‘निषेधाज्ञाका कारण छपाई रोकिएको छ, सकिनेबित्तिकै पुनः छाप्न शुरु हुनेछ ।’दाहालले देशको राजनीतिक तथा सामाजिक परिवर्तन अनुसार नयाँ परिवेशमा विद्यार्थीले पढ्न पाउनुपर्ने पक्षलाई ध्यान दिई राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले गरेको निर्णयअनुसार बनाइएको तालिकाअनुरुप नै कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न लागिएको प्रष्ट्याए ।













