राजविराज


मंसिर २० गते ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत राजविराजमा शनिबार लैङ्गिक रुपान्तरण सम्बन्धी सिकाइ तथा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

अभियानको मूल समारोह समितिका अध्यक्ष इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नयाँ बुहारीहरुले लैङ्गिक रुपान्तरणका अनुभवहरु सुनाउनु भयो ।
सहभागी राजविराज नगरपालिका ६ का रेणुदेबी राम, दिपिका चौहान, ज्योती साह, कल्पनादेबी राम, कजरा खातुन, आरतीदेबी रामले आ–आफ्नो अनुभव सुनाउँदै घरपरिवारमा बोली–व्यवहार समेत परिवर्तन भएको जानकारी दिनुभयो ।
श्रीमान, सासु–ससुराले पहिले भन्दा बढी सहयोग गर्न थाल्नु भएको, झगडा र विवाद बन्द भएको, घरायसी काममा सरसल्लाह र सहयोग हुन थालेको बताउँदै सहभागीहरुले जिविकोपार्जन कार्यक्रमले जीवनमा परिवर्तन आउन थालेको बताउनु भयो ।
कार्यक्रममा वडा अध्यक्ष प्रेमकुमार यादवले सहज परियोजनको कार्यक्रमको थप आवश्यक्ता रहेकोले परियोजना विस्तार गर्न जोड दिनुभयो ।
जिविकोपार्जन सल्लाहकार रामनाथ साहद्वारा सञ्चालित अन्तरक्रिया कार्यक्रममा भिएसओका सुनिल साह, सहज परियोजनाका कृष्णकुमार साह, रामभरोसी गुप्ता, पत्रकार ललीता साहले मन्तव्य राख्नु भयो ।
मूल समारोह समितिको आयोजना तथा समग्र जनउत्थान केन्द्रको संयोजनमा आयोजित कार्यक्रममा सहजकर्ता मुन्नीकुमारी राम र नयाँ बुहारी आरतीदेबी रामले समेत आ–आफ्नो अनुभव सुनाउनु भयो ।












