Logo

‘मर्यादित महिनावारी’ दिवसमा गर्भवती र सुत्केरीलाई पौष्टिक आहार र सेनेटेरी प्याड

                     
Logo २४ मंसिर २०७७, बुधबार ०८:५१    

राजविराज

मङ्सिर २४ गते

राजविराजमा खुला रुपमा सेनेटेरी प्याड वितरण गरेर दोस्रो पटक ‘मर्यादित महिनावारी’ दिवस मनाइएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समितिको आयोजनामा राजविराजस्थित सहिद दशन चोकमा कोणसभा पश्चात सेनेटेरी प्याड वितरण गरेर ‘मर्यादित महिनावारी’ दिवस मनाइएको हो ।

कोणसभामा मूल समारोह समितिका संयोजक मनोहर पोखरेलले मन्तव्य राख्नु हुँदै महिनावारी भएकै आधारमा हुने विभेद अन्त्य गर्नुपर्ने बताउनु भयो । संस्कृतिको आडमा महिलामाथि हुने अमानवीय व्यवहार मानवअधिकार विरुद्ध रहेकाले महिनावारीका नाममा हुने शोषण र निषेधविरुद्ध लडन तथा विज्ञानसम्मत र विवेकसम्मत खण्डन गर्न सबैसँग आग्रह गर्नुभयो ।

महिला मानवअधिकार रक्षक सञ्जालकी सहसचिव एवम् अधिवक्ता मनु खनालले महिनावारी भएका बेला एक्लै राखिंदा किशोरी र महिलाहरूले यौनजन्य हिंसा, बलात्कार तथा ज्यान समेत गुमाइरहनु परेकाले महिनावारीका कारण गरिने सबैखाले हिंसा अन्त्यको पहल घरघरबाट शुरु गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, राजविराज जेसीजकी अध्यक्ष नानीमैया कटवाल, मैथिली महिला परिषदकी प्रतिमा देव, समग्र जनउत्थान केन्द्रकी सुष्मा गुप्ता, हुर्क नेपालकी रिया राय सञ्चेती, नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुरले मन्तव्य राख्नु भयो ।

ग्रीन नेपालको संयोजनमा भएको कार्यक्रममा राजविराज जेसीज र मानवअधिकार निगरानी समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

महिला हिंसा विरुद्धको १६ दिने अभियान (नोभेम्बर २५–डिसेम्बर १०) कै अवसर पारेर गत वर्षदेखि डिसेम्बर ८ का दिन यो दिवस मनाउन थालिएको हो । मदन पुरस्कार विजेता समेत रहेकी अभियन्ता राधा पौडेल मर्यादिन महिनावारी दिवसकी पहलकर्ता हुन् ।

बुधबार साँझ गजेन्द्र चौकमा राजविराज जेसीजको संयोजनमा लैङ्गिक हिंसाबाट मृत्युवरण भएकाहरूको सम्झनामा दिप प्रज्वलन गरिने मूल संयोजक पोखरेलले बताउनु भयो ।

अस्पतालमा बाँडियो पौष्टिक आहार र सेनेटेरी प्याड

राजविराज जेसीजले आज मर्यादित महिनावारी दिवसको अवसर पारेर राजविराजस्थित अस्पतालमा गर्भवती र सुत्केरीलाई पौष्टिक आहार र सेनेटेरी प्याड वितरण गरेको छ ।

जेसीज सप्ताहअन्तर्गत छैठो दिन मर्यादित महिनावारी दिवस भएकाले जेसीजले महिनावारीलाई मर्यादाका साथ सम्मान गर्ने सन्देश दिन सेनेटेरी प्याड र पौष्टिक आहारा वितरण गरेको जनाएको छ ।

महिनावारी, गर्भ र सुत्केरी प्राकृतिक विषय भएकाले लाज मान्न, पाप र अछुतको व्यवहार गर्न नहुने भन्नुहुँदै राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालले धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा गरिने हिंसाजन्य कार्यविरुद्ध युवाहरु अग्रभागमा उभिनु पर्ने बताउनु भयो ।

राजविराज जेसीजका कार्यकारिणी उपाध्यक्ष गणेशकुमार दासको संयोजनमा भएको कार्यक्रममा अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजीतकुमार झा, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाुकर, राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेललगायत जेसीजका पदाधिकारीहरु र अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मीहरु सहभागी थिए ।

 

 


लोकप्रिय छुटाउनुभयो कि ?