कोभिडपछि इन्टरनेट प्रयोग गर्ने ३० प्रतिशतले बढेका छन् । त्यसरी इन्टरनेट प्रयोगकर्ता बढेपनि दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको रिपोर्ट अनुसार अझै पनि २३ प्रतिशत जनसङ्ख्या इन्टरनेटको पहुँच बाहिर रहेको देखिन्छ ।


कोरोना भाइरसपछि सम्पूर्ण क्रियाकलाप अनलाइनबाटै हुन थालेपछि नेपालमा इन्टरनेट व्यान्डविथ खपत ३० प्रतिशतले बढेको इन्टरनेट सेवाप्रदायकहरूको भनाई छ। खासगरी कारोनाको कारण सरकारले बन्दाबन्दी र निषेधाज्ञा जारी गरेपछि ग्राहक भिडियो कन्टेन्टमै बढी केन्द्रित भएका छन् । जसको कारण ब्यान्डविथ खपत ह्वातै बढेको सेवाप्रदायकहरू बताउँछन् ।
इन्टरनेट सेवाप्रदायक संघ नेपालका अध्यक्ष सुधीर पराजुलीले अन्तर्राष्ट्रिय ब्यान्डविथको खपत बढे पनि यसको प्रयोग भने मुख्यतया गुगल, फेसबुक र टिकटकमै व्यान्डवीथ खपत भइरहेको बताए। पराजुलीका अनुसार लकडाउनपछि पहिलेको तुलनामा कम्तीमा ३० प्रतिशतले इन्टरनेट ब्यान्डविथ खपत बढिरहेको छ । अहिले नेपालमा करिब ४ सय १८ जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत भइरहेको छ ।

तर, दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०७७ असोजसम्मको एमआईएस रिपोर्टले दशैभर इन्टरनेट विस्तार हुन भने नसकेको देखाएको छ ।
पछिल्लो चार बर्षदेखि प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषमा जम्मा भएको रकम परिचालन गरी नेपालका विभिन्न दूरसञ्चार सेवाप्रदायकहरूलाई इन्टरनेट विस्तारको जिम्मा दिएको छ । तर,काममा भएको ढिलासुस्तीको कारण ग्रामीण भेगका मानिसहरू इन्टरनेटको पहूँच बाहिर रहन बाध्य भएका छन् । केन्द्रिय तथ्याङ्क विभागको तथ्याङ्क अनुसार अहिले नेपालका जनसङ्ख्या तीन करोड एक लाख ९७ हजार ६ सय ४२ रहेको छ ।
प्राधिकरणको तथ्याङ्क अनुसार असोज मसान्तसम्म देशभर ७७ प्रतिशत ब्रोडव्यान्ड इन्टरनेटको पहूँच पुगेको छ । गत बर्ष सोहि अवधिमा ७० प्रतिशत जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुगेको थियो । सङ्ख्यात्मक हिसाबले अहिले दुई करोड ३२ लाख ७५ हजारले इन्टरनेट सेवा लिइरहेका छन् । जसमा मोबाइल ब्रोडव्यान्डको पहुँच ५७ प्रतिशत रहेको छ । हाल नेपालमा तीन ओटा मोबाइल सेवाप्रदायकले सेवा दिइरहेका छन् । नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले टुजी, थ्रिजी र फोरजी सेवा मार्फत ग्रामीण तथा सहरी भेगमा मोबाइल डेटाबाट इन्टरनेट सेवा उपलब्ध गराउँदै आएका छन् ।
टेलिकम सेवाप्रदायकले प्राधिकरणलाई उपलब्ध गराएको तथ्याङ्कमा फिक्स्ड ब्रोडव्यान्ड –वायर्ड र मोबाइल ब्रोडव्यान्डमा आधारित भएर सेवा दिइरहेका छन् । त्यसैगरी इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले फाइबर टु दि होम ९एफटीटीएच० मार्फत इन्टरनेट दिइरहेका छन् ।
फोरजीको पहुँच बढ्दै
विगत केहि बर्षदेखि नेपालका ठूला दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेलले फोरजी सेवा देशभर विस्तार गरिरहेका छन् । तर, सम्पन्न भइसकेको अवस्था भने छैन् । नेपाल टेलिकमले एक बर्ष भित्र देशैभर फोरजीको विस्तार गर्ने प्रतिवद्धता जनाएपनि काम सकेको छैन् । अहिले नेपालमा कुल फोरजी प्रयोगकर्ता ५७ लाख ७२ हजार रहेका छन् । जसमा टेलिकम, एनसेल र स्मार्ट टेलिकमको क्रमशः १८ लाख ४० हजार, ३७ लाख २९ हजार, दुईलाख २ हजार रहेका छन् । त्यस्तै थ्रिजी प्रयोगकर्ता १ करोड ११ लाख ९७ हजार रहेको तथ्याङ्कले देखाएको छ । टेलिकम र एनसेलले यसै बर्ष फोरजी विस्तार सम्पन्न गरिसक्ने र फाइबजीको तयारीमा लाग्ने जनाएका छन् ।
एफटीटीएचमा बढ्दो अकर्षण
फाइबर टु दी होम सेवा अहिले लोकप्रिय बनेको छ । बार्षिक तथा मासिक प्याकेज तथा मोबाइल इन्टरनेटको तुलनामा सस्तो भएकै कारण सहरी क्षेत्रमा सेवाग्राही थप्न सेवाप्रदायक लागि परेका छन् । यतिवेला नेपालका इन्टरनेट सेवाप्रदायक कम्पनीहरू बीच ग्राहक थप्ने प्रतिस्पर्धा नै चलेको छ ।
नेपालमा ठूला मोबाइल सेवाप्रदायक एनसेल र नेपाल टेलिकमले यस्तो सेवाका लागि लागि जोड दिएका छन् । नेपालमा हाल एक सय २५ बढी इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले दूरसञ्चार प्राधिकरणबाट लाइसेन्स लिएका छन । तर, सेवाको हिसाबले केहि कम्पनीमात्रै सक्रिय रहेको इन्टरनेट सेवाप्रदायक संघ नेपालले जनाएको छ ।
नेपाल टेलिकमको अहिले फाइबरमा एडिएसएल र एफटिटिएच प्रोडक्टमा १२ लाख बढी ग्राहक छन् । पछिल्लो समय टेलिकम पुर्णरूपमा एफटिटिएच सेवामा केन्द्रित रहेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए ।
पुराना एडिएसएललाई पनि टेलिकमले फाइबर मै अपग्रेड गर्दै गएको उनको भनाई छ । त्यस्तै नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले अहिलेसम्ममा ४७ लाख ४० हजार ग्राहक बनाइसकेका छन् । अहिले कुल ७७ प्रतिशत ब्रोडव्यान्ड इन्टरनेटको पहुँच मध्ये १९ प्रतिशत फाइबर सेवाको पहुँच पुगेको दूरसञ्चार प्राधिकरणले जनाएको छ । मेरो लगानीडट कम












