Logo

पर्साकोओरिया खोलामा भारतीय पक्षबाट अवैध उत्खनन

                     
Logo २६ माघ २०७७, सोमबार १५:१६    

पर्सा,

माघ २७ ।

पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–१ पिपलाडी बिसनपुर रहेको ओरिया खोलाबाट भारतीय पक्षले एकतर्फीरुपमा अवैध बालुवा उत्खनन गर्नेक्रम रोकिएको छैन । उसले वार्षिक सात करोड मूल्य बराबरको बालुवा लग्ने गरेको बताइएको छ ।

दैनिक एक हजारभन्दा बढी भारतीय ट्याक्टर अबैधरुपमा खोलामा पसेर जथाभावी बालुवा उत्खनन गर्दा वातावरण समेत प्रभावित भएको स्थानीयवासीहरुको आरोप छ । खोला नजिकै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट र प्रहरी चौकी समेत रहेको छ ।

विगत २० वर्षदेखि सो खोलाको स्वामित्वका बारेमा दुई देशबीच विवाद रहेको र भारतीयले खोलाबाट बालुवा निकाल्नेक्रम नरोकिएको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मन्सुरीले बताए । उनले भने, ‘विगत तीन वर्षदेखि भारतीयलाई खोलाबाट बालुवा निकाल्न रोक लगाएको भए पनि केही दिनयता भारतीयले सो खोलाबाट पुनःअवैधरुपमा बालुवा निकाल्न थालेको छ ।’

केही दिनअघि दुई ट्याक्टर कब्जामा लिएको सशस्त्र प्रहरी निरीक्षक वसन्त जिसीले जानकारी दिए । वारी पर्साको पिपडाडी गाउँ रहेको छ भने पारी भारतको भङ्गहा गाउँ रहेको छ र बीचबाट ओरिया खोला बगेको भए पनि भारतले आफ्नो क्षेत्रमा खोला रहेको भनी दाबी गर्दै ठेक्कासमेत लगाउने गरेको छ ।

प्रमुख जिल्ला अधिकारी आसमान तामाङले समस्याका बारेमा आफूलाई जानकारी भएको र चाँडै नै अनुगमन गरी दोषीमाथि कारवाही गरिने बताए । रासस


लोकप्रिय छुटाउनुभयो कि ?