कञ्चनरुप फाल्गुण ३ गते ।


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सोमबार देशभर विरोध प्रदर्शन गर्ने भएको छ। पार्टी केन्द्रीय समितिको माघ १३ गतेको निर्णयअनुसार कांग्रेसले सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।
गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ ।

जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्नेछन् । पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नेछन् ।
यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशशरण महत धादिङ, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्नेछन् ।
संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले यसअघि पुस १३ देखि माघ २४ गतेसम्मको अवधिमा विरोध प्रदर्शन गरेको थियो ।
आज हुने प्रदर्शनलाई पनि घरघरबाट सहभागी भएर सफल पार्न सभापति देउवाले अपिल गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपा, जनता समाजवादी पार्टीलगायतका दल र नागरिक अगुवाले प्रदर्शन गर्दै आएका छन् ।
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले हिजो (आइतबार) चौंथो चरणको आन्दोलन अन्तर्गत २० दिने विरोधका कार्यक्रम घोषणा गरिसकेको छ ।












