कन्चनरुप


फाल्गुन ४ गते ।
प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले मंगलबार एकै दिन तीन वटा संरचनाको उद्घाटन गरेका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा कक्षा कोठा भवन र बिरामीका आफन्तका लागि कुरुवा घर तथा तिरहुत गाउँपालिकाको त्रिकौल बैरवामा धर्मशाला र विवाह मण्डपको छुट्टाछुट्टै समारोहबीच मन्त्री साहले उद्घाटन गरेका हुन् ।
हनुमाननगर कंकालिनी नगरपालिका १० भगवानपुरस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा कोठा अभावका कारण पठनपाठनमा समस्या रहँदै आएको थियो । सामाजिक विकास मन्त्रालयको २० लाखको लागतमा २ कोठे भवन तयार भएपछि मन्त्री साहले त्यसको उद्घाटन गरेका हुन् ।
त्यसैगरि सोही नगरपालिका ७ स्थित स्वास्थ्य चौकीमा संसदीय विकास कोषबाट निर्मित कुरुवा घर समेत मन्त्री साहले उद्घाटन गरेका छन् । त्यसैगरि तिरहुत गाउँपालिका १ स्थित त्रिकौल बैरवामा पनि संसदीय विकास कोषको ९० लाख रुँपैयाको लागतमा निर्माण गरिएको धर्मशाला र विवाह मण्डपसमेतको मंगलकारै मन्त्री साहले उद्घाटन गरेका छन् ।
स्थानिय कुश्मिदेवी पंजियारले स्व. पति छेदी पंजियारको नाममा करिब ३ करोड मुल्य पर्ने १० कठ्ठा जग्गा निशुल्क उपलब्ध गराएपछि धर्मशाला र विवाह मण्डप निर्माण गरिएको मन्त्री साहका स्वकिय सचिव राजकुमार यादवले जानकारी दिए ।
करोडौं मुल्य पर्ने जग्गा दान गर्ने जग्गादातालाई सम्मान गर्दै कुश्मि देवीकै अध्यक्षतामा उद्घाटन समारोहको आयोजना गरिएको थियो ।












