Logo

भागरथी हत्या प्रकरण : शंकास्पद एक जना पक्राउ

                     
Logo ४ फाल्गुन २०७७, मंगलवार २०:५७    

  1. बैतडी, ४ फागुन ।

    बैतडीको दोगडाकेदार–७ कतोलाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    घटनाको अनुसन्धानमा प्रहरीको निगरानीमा रहेका दोगडाकेदार गाउँपालिकाकै एक जनालाई भारत छिर्न लागेको अवस्थामा महेन्द्रनगरबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

    पक्राउ गरिएका उनी सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् । भागरथीको हत्या भएको केही दिनपछि उनी बिदा लिएर महेन्द्रनगर आएका थिए । प्रहरीले घटनाको दिन र घटनापछि गाउँ छाड्नेको सूची तयार गरेर उनीहरुमाथि निगरानी बढाएको थियो । तीमध्ये केही व्यक्तिलाई प्रहरीले उच्च निगरानीमा पनि राखेको थियो ।

    यद्यपि अनुसन्धान प्रभावित हुनसक्ने भन्दै प्रहरीले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले शंकास्पदहरुलाई ल्याएर सोधपुछ गर्ने कार्य भइरहेको जानकारी दिएका छन् ।

    भागरथीको हत्या भएको दिन पक्राउ गरिएको भनिएका व्यक्ति पनि घटनास्थलबाट ३ किलोमिटर वर खोचलेक बजारमा रहेको पाइएको र भागरथी खोचलेक बजारबाट घरतर्फ लागे लगत्तै उनी पनि त्यहाँबाट निस्किएको पाइएको स्रोतले बताएको छ ।

    ‘भागरथी घर जान लागेपछि तत्काल ती व्यक्ति पनि सोही बाटो हुँदै गएको पाइएको छ,’ स्रोतले भन्यो । घटनाको अनुुसन्धानमा संलग्न एक अनुसन्धान अधिकृतका अनुसार महेन्द्रनगरबाट पक्राउ परेका ती व्यक्ति अहिले पनि प्रहरी नियन्त्रणमै रहेका छन् । भारत भाग्न लागेको आशंकामा उनलाई पक्राउ गरिएको थियो ।

    अनुसन्धानको क्रममा घटनाको समयमा उनी घटनास्थल नजिकै पाइएको र घटनामा संलग्न भएको पुुष्टी गर्ने केही आधार पनि आफूहरुसँग भएको स्रोतको भनाइ छ । स्रोत भन्छ, ‘भेटिएको मोबाइलको ब्याट्रीबारे कुकुरले गरेको संकेतबाट ती व्यक्ति शंकाको घेरामा थिए ।’ भागरथीको मोवाइलको व्याट्री पक्राउ परेका व्यक्तिको घर आसपासमै भेटिएको पनि प्रहरी स्रोतले जानकारी दिएको छ । यद्यपि घटनामा उनको संलग्नतालाई पुुष्टि गर्न भेजाइनल स्वाब र घटनास्थलमा भेटिएको वीर्यको डिएनए टेष्ट गर्नुपर्ने जनाइएको छ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले केही शंकास्पद व्यक्ति सूक्ष्म निगरानीमा रहेको बताएका छन् । ‘अहिलेसम्म कसैलाई नियन्त्रणमा लिएका छैनौं । हाम्रो अनुसन्धान सकारात्मक रुपले अगाडि बढेको छ । फराकिलो दायराबाट शुरु भएको अनुसन्धान साँधुरिँदै गएको छ’, उनले भने, ‘दुई–तीन जना हाम्रो सूक्ष्म निगरानीमा छन् । तथ्यहरु भिडाउँदै छौं ।’

    गत माघ २१ बुधबार विद्यालय गएकी दोगडाकेदार–७ कतोलाकी भागरथीको अर्को दिन बेलुका बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकै लबलेक सामुदायिक वनमा शव भेटिएको थियो


लोकप्रिय छुटाउनुभयो कि ?