ताप्लेजुङ,


फागुन १८ गते ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ मा रहेको दोभान बजारमा भीषण आगलागी भएको छ ।

आज (मंगलबार) बिहानबाट ९ बजेतिर शुरु भएको आगलागी मध्यान्ह साढे १२ बजेसम्म पनि नियन्त्रणमा नआएको गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूले जानकारी दिएका छन् । दोभान बजारमा रहेका ६० प्रतिशत घर आगलागीबाट नष्ट भइसकेको छ । ‘आगो नियन्त्रणमा नआएकाले गन्ने अवस्था छैन, ४० भन्दा बढी घर पूर्ण रुपमा खरानी भइसकेका छन्’, अध्यक्ष लिम्बूले भने ।
उनले आगलागीबाट मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल क्षति भएको बताएका छन् ।
आगलागी नियन्त्रण बाहिर गएपछि जेसिबीको प्रयोग गरेर केही घर भत्काएर अग्नि नियन्त्रण रेखा कोर्ने काम गरिएको अध्यक्ष लिम्बूले बताएका छन् । ‘
आगलागी रोक्नका लागि ३ जेसीबीको प्रयोग गरेर केही घर भत्काएर अग्नि नियन्त्रण रेखा कोर्ने काम गरिएको छ’, उनले भने, ‘त्यसपछि आगो नियन्त्रणउन्मुख भएको छ ।’ उनले आगो नियन्त्रका लागि ताप्लेजुङ सदरमुकाम र छिमेकी जिल्ला पाँचथरदेखि पनि दमकल ल्याइएको जानकारी दिए । रासस












