Logo

जसपालाई दुईतिर तानातान, यता जाने कि उता

                     
Logo ६ चैत्र २०७७, शुक्रबार १४:१५    

जनता समाजवादी पार्टी अहिले सत्ता समीकरणका लागि निर्णायक दलका रूपमा प्रतिनिधि सभामा देखा परेको छ । अदालतको आदेशपछि नेकपा खारेज र एमाले(माओवादी ब्युँतिएपछि जसपा सत्ता समीकरणका लागि निर्णायक बनेको हो ।

संसद् मा ठुलो दल नेकपा एमाले छ । यसकै नेतृत्वमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेका छन् । तर एमालेकै एउटा पक्ष भने एमालेमै रहने वा बाहिरिने दोधारमा छ । माधव नेपाल नेतृत्वको समूहले समानान्तर गतिविधि गरिरहेको छ ।

सरकारमा एमाले एक्लैको बहुमत छैन । अझै माधव नेपालले साथ छोडेको अवस्थामा ओलीलाई झन् जटिल हुनेछ । ओली सरकारमा टिकिरहन चाहन्छन् । ओलीइतरका दलहरू उनलाई जसरी पनि हटाउनुपर्ने कसरत गरिरहेका छन् । तर, जसपाले निर्णय दिन नसक्दा हुन सकेको छैन । जसपाको भूमिका सरकार निर्माणका लागि ओली, दाहाल र शेरबहादुर देउवाले खोजिरहेका छन् ।

संसदीय अङ्कगणितमा निर्णायक भूमिका निर्वाह गर्ने अवस्थामा पुगेको जसपा सत्ता समीकरणका विषयमा दुई धारमा विभाजित भएको छ । साझेदारीका लागि प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने कि ओलीइतर राजनीतिक पक्षसँग सहकार्य गर्ने भन्नेबारे जसपा नेपालभित्र बहस चलिरहेको छ ।

जसपाले नेकपा एमालेसँग सत्ता साझेदारी गरेर अघि बढ्ने वा नेपाली काँग्रेस र माओवादी केन्द्रसँग मिलेर नयाँ गठबन्धनका साथ सरकारमा सामेल हुने भन्नेबारे निर्णय लिन सकिरहेको छैन । एउटा धारले ओलीको पक्षमा निकटता देखाउन थालेको छ भने अर्को पक्षले काँग्रेस र माओवादी केन्द्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिन थालेको छ ।

जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको झुकाव प्रधानमन्त्री ओलीतिर देखिन्छ । पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई भने काँग्रेस र माओवादी केन्द्रसँग सहकार्य गरेर अघि बढ्नुपर्ने पक्षमा देखिन्छन् । दुई पार्टी मिलेर बनेको जसपामा एकताले पूर्णता नपाउँदै दुई धारमा विभाजित छ ।

अध्यक्ष यादवसहितका पदाधिकारी प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई कुनै पनि हालतमा सहयोग गर्न नसकिने अडानमा छन् । यता अर्का अध्यक्ष महन्थ ठाकुरसहितका पदाधिकारी ओली नेतृत्वको सरकारले आफ्ना माग पूरा गर्न तयार हुन्छ भने सहयोग गर्न सकिने बताउँदै आएका छन् । सङ्घीय परिषद् अध्यक्ष डा। भट्टराई र कार्यकारिणी अध्यक्ष यादव प्रधानमन्त्री ओलीइतरको गठबन्धन बनाउने कसरतमा छन् ।

ओलीसँग सहकार्य गर्दा मधेस आन्दोलनमाथि धोका हुने उपेन्द्र यादवको तर्कसँग उनी इतर पक्षका पदाधिकारी सहमत हुन सकेको अवस्था छैन । यादव इतर पक्षका पदाधिकारीहरू ओली, देउवा र दाहाल उस्तै हो भन्दै प्रतिवाद गर्दै आएका छन् । जसका कारण जसपा एकमत हुन सकिरहेको छैन ।

एउटा खेमाले रेशम चौधरीको रिहाइ, कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्तालाई मुख्य माग बनाएको छ । जसले यी माग पूरा गर्छ उसैसँग जानुपर्छ भन्छन् । अर्को खेमाले केपी ओलीसँग जानै हुँदैन, ओली प्रतिगमनका नायक हुन् भनिरहेको छ । यसले जसपाको पोजिसनमा एकमत देखिँदैन ।

प्रधानमन्त्री ओलीलाई बहुमतका लागि चाहिएको मत तत्कालीन राजपा र समाजवादीका असन्तुष्ट खेमालाई समेट्दा सजिलै पुग्न सक्छ । जसपासँग ३४ मध्ये अहिले ३२ जना सांसद छन् । दुई सांसद निलम्बनमा छन् । काङ्ग्रेससँग ६३ मध्ये अहिले ६२ सांसद छन् । दुई जना निलम्बनमा परेका छन् । माओवादी केन्द्रसँग ४८ सांसद छन् । संसदमा बहुमत पुर्‍याउन १३८ सांसद चाहिन्छ । यी तीन दल गठबन्धन गरे भने एमाले अध्यक्ष ओलीइतरको सरकार बनाउन सङ्ख्या पुग्छ ।

यता कि उता, सम्भावना कसको

सरकारविरुद्ध केही दिनभित्र अविश्वास प्रस्ताव ल्याउने कसरत भइरहेको छ । ओलीले नेपाली काँग्रेस वा जसपासँग सहमति हुनेवित्तिकै अविश्वासको प्रस्ताव आउने निश्चित छ । माओवादीले अहिले पनि सरकारलाई दिएको समर्थन फिर्ता दिएको छैन ।

काँग्रेस र जसपाले प्रधानमन्त्री ओलीलाई सहयोग नगर्ने संस्थागत निर्णय गरेमा तुरुन्तै हस्ताक्षर प्रक्रिया सुरु हुनेछ । बहुमत हस्ताक्षर बनाएर राखेपछि माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी स्पष्ट छ ।

दाहालले आलोपालो प्रधानमन्त्रीको प्रस्ताव काँग्रेस सभापति देउवासँग राखेका छन् । जसपाको एउटा धारले देउवालाई उनकै निवास बुढानीलकण्ठ पुगेर औपचारिक रूपमै प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेको छ । जसपाभित्र अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले भने अहिले कसैलाई पनि समर्थन गर्न नहुने धारणा राख्दै आएको छ ।

अहिलेसम्म काँग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न तयार भएको मात्रै बताएको छ । उसले कुन–कुन दलसँग सहकार्य गर्ने भन्ने निर्णय गरेको छैन । काँग्रेस पनि जसपा माओवादीसँगै समीकरणको पक्षमा छ । तर, जसपाले एकमतले ओलीसँग सत्ता समीकरण नगर्ने घोषणा गरेपछि मात्र देउवाले यस विषयमा धारणा सार्वजनिक गर्ने देखिन्छ ।

जसपाले काँग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गर्दा पार्टी फुटबाट बच्न सक्ने र आफ्नो मतको मूल्य पनि हुने भएपछि उसले ओलीलाई समर्थन गर्न सक्ने सम्भावना न्यून रहेको राजनीतिक विश्लेषण छ ।

जसपा सरकारमा जान तयार छ। तर कुन पार्टी र कसको नेतृत्वमा विवाद र मतभिन्नता यही विषयमा हो । दुवै पक्षले तानातान गरिरहेका छन् । जसपाका नेताहरू पनि दुर्वहतिर जान इच्छुक छन् । एक पक्ष यता जान पाए भन्छ, अर्को पक्ष उता जान पाए भन्छ । तर, जाने कता अझै दोधारमै छ । KTM Dainik


लोकप्रिय छुटाउनुभयो कि ?