Logo

नयाँ सरकार गठनको च्याप्टर तत्काललाई क्लोज

                     
Logo २९ चैत्र २०७७, आईतवार १२:३२    

काठमाडौं  ।

नयाँ सरकार गठनका लागि नेपाली काँग्रेसले बोलाएको बैठक विना निष्कर्ष टुंगियो । काँग्रेसको अगुवाइमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबिच भएको छलफलमा कुनै सहमति भएन । बरु छलफलअघिकै अवस्थामा तीन दल फर्किए । बैठकमा काँग्रेसले नयाँ सरकार गठनका लागि माओवादी र जसपालाई प्रस्ताव गरेको थियो ।

माओवादीले सहमति जनायो । तर, जसपाले कुनै निर्णय दिन सकेन । पार्टीमा छलफल गरेर टुंगोमा पुग्ने बहाना निकाल्दै जसपा बाहिरियो । तर, यही विषयमा बैठक बस्नुअघि पनि जसपाले छलफल गरेको थियो । त्यसपछि जसपाले कुनै छलफल गरेको छैन ।

केपी शर्मा ओलीलाई सत्ताबाट जसरी पनि हटाउने माओवादी अध्यक्ष दाहालको अडान छ । त्यसका लागि उनी ओलीइतर काँग्रेस वा जसपासमेतलाई सरकारको बागडोर दिन तयार छन् । तर, माओवादी डेढ महिनादेखि नयाँ सरकार बनाउने कसरत गरे पनि त्यसले मूर्त रूप पाउन सकेको छैन। स्वयं माओवादीले सङ्घीय सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन।

दाहालजस्तै जसपा नेता डा। बाबुराम भट्टराईको मत पनि छ । उनी पनि ओलीको बहिर्गमनको विकल्प नभएको बताउँछन् । उनकै दलका एक जना अध्यक्ष उपेन्द्र यादव पनि भट्टराईसँग सहमत छन् । तर, उनकै दलले निर्णय गर्न नसक्दा ओलीको सत्ता यात्रा लम्बिँदै गएको छ ।

जसपामा महन्थ ठाकुर पक्ष ओली सरकार परिवर्तनमा टुंगोमा पुगेको छैन । उसले ओलीलाई नै साथ दिएर पनि जान सकिने विषयमा छलफल गरिरहेको छ । दुवै पक्षसँग छलफलमा रहेको जसपाको आफ्नै दाऊ छ । जसपा सरकारमा आउने वा समर्थन गर्नेबीचमा रहेर आफ्ना केही पुराना मुद्दाहरू सल्टाउन लागिपरेको छ । बन्दी छुटाउने, हत्यारा ठहर भएकालाई सजाय मुक्त गराउने लगायतका मुद्दा जसपाको केन्द्रमा छन् । यही दुई धारमा बसेर आफ्ना माग पूरा गराउने जसपाको रणनीति देखिन्छ ।

ओलीको बहिर्गमनका विषयमा काँग्रेसमा देउवाइतर पक्ष पनि स्पष्ट छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरू ओलीको तत्काल विकल्प खोज्नुपर्ने बताइरहेका छन् । तर, देउवा नै यस विषयमा दोधारमा देखिन्छन् । त्यही कारण देउवा नयाँ सरकार बनाउन जति तात्नु पर्ने हो त्यति तातिरहेका छैनन् । माओवादी सहमत भए पनि जसपा नआएसम्म नयाँ सरकार नबन्ने देउवालाई प्रस्ट थाहा छ । यही मेसोमा पुनः मध्यावधि चुनावमा गइहाले पनि फाइदै हुने देउवाको आकलन छ । यसअघि संसदमा खुम्चिएको काँग्रेसलाई अबको चुनावमा उकास्ने देउवाको दाऊ छ ।

सत्ताको बाटो क्लियर नभएसम्म जोखिम मोल्न देउवा तयार छैनन् । सके आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने नभए ओलीकै नेतृत्वमा चुनावमा जाने देउवाको प्रस्ट धारणा छ । जसपाले आफ्ना विभिन्न मुद्दाका विषयमा ओलीसँग निरन्तर छलफल गरिरहेकै छ । उसले आफ्ना केही नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ताको सूची समेत सरकारलाई बुझाइ सकेको छ ।

सरकार सकारात्मक रहेको अवस्थामा ओलीसँगै जसपाको समझदारी बन्नेमा दुई मत भएन । यो सम्भावना बलियो छ । यसो भएको खण्डमा ओलीले निरन्तरता पाउने निश्चित छ । ओली निर्धारित समय अगावै चुनाव गर्न चाहन्छन् । जसपामा देउवाको पनि कहीँ न कहीँ सहमति छ । यसरी हेर्दा नयाँ सरकार गठनको च्याप्टर क्लोज हुने सम्भावना पनि उत्तिकै छ । ( केटियम दैनिकमा दीपा आचार्य )


लोकप्रिय छुटाउनुभयो कि ?