काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोरोना पुष्टि भएको छ । ४६० जना पिसिआर र ५७ जना एन्टिजेन परीक्षणमा गरी ५१७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९८४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ३ हजार ६०८ जना आइसोलेसनमा छन् । यसअघि सोमबार ५५९ जना कोरोना संक्रमित भेटिएका थिए ।
गत २४ घण्टामा ५ हजार २०३ जनाको पिसिआर परीक्षण भएको छ । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख २१ हजार ६७० पुगेको छ । गत २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ५८ पुगेको छ । हाल ८५ जना क्वारेन्टाइनमा छन् ।

गत २४ घण्टामा १५३ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार ३१८ जना पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये २०१ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन् । काठमाडौंमा १६१, ललितपुरमा २८ र भक्तपुरमा १२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।












