काठमाडौं । २०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको भीमसेन धरहरा पुनःनिर्माण भएको छ । आज शनिवार प्रधानमन्त्री केपी ओलीले नयाँ धरहराको उद्घाटन गर्दैछन् ।


पहिले ढलेको धरहराकै पूर्वतिर छेउमै नयाँ धरहरा ठडिएको छ । २०७२ सालको भूकम्पले नौ तले धराहरा भत्किएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिले धरहरा रहेकै स्थानमा २२ तले धरहरा पुनर्निर्माण गरेको छ । बाहिरबाट भने धरहरा ११ तलाको देखिन्छ ।
पुनर्निर्मित धरहरामा सुनको जलप लगाइएको गजुर बुधबार राखिएको थियो । २२ औं तलामा शिवलिंग छ । दुईवटा लिफ्ट र रंगरोगनको काम सकिएको छ । हाललाई एउटा मात्र लिफ्ट सन्चालन गरिएको छ । पार्किङ क्षेत्र, बगैंचालगायतको काम जारी छ । धरहरालाई बलियो, आकर्षक र अपांगमैत्री बनाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इञ्जिनियर राजुमान मानन्धरले बताए ।

नयाँ धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ । धरहराको टावर नजिकै चार तले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय बनाउने काम भइरहेको छ । यस्तै धरहरा क्षेत्रमा विश्रामस्थलसहितको मनमोहक बगैंचा तथा सङ्गीतमय फोहरा समेत बन्ने छ । धरहराको निर्माण सकिए पनि त्यस क्षेत्रमा निर्माण हुने अन्य संरचनाको काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
धरहराको उद्घाटन आज गरिए पनि तत्काल अवलोकन गर्न भने पाइने छैन । आउँदो मंसिरसम्म सबै काम सकेपछि मात्रै सबैका लागि धरहरा खुला गर्ने तयारी भएको पुनर्निर्माण प्राधिकरणका विज्ञ इञ्जिनियर राजुमान मानन्धरले जानकारी दिएका छन् । उनका अनुसार धरहरा क्षेत्रमा रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण हुन लागेको छ ।
भूकम्पबाट घाइते भएको नेपाल अब उठेको सन्देश दिन वैशाख १२ कै अघिल्लो दिन उद्घाटन गर्ने निधो गरिएको बताइएको छ । नयाँ धरहराको शिलान्याश ओलीले नै गरेका थिए । उनले नै उद्घाटन गरेको हुँदा यसलाई ओली धरहरा पनि भन्न थालिएको छ ।
काठमाडौंको शानको रुपमा रहेको धरहरा यस अघि १९९० साल माघ २ गतेको भूकम्पमा पनि भत्किएको थियो । पहिलेको धरहरा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले बनाएका थिए । पुरानो ११ तले धरहरा भत्किएपछि फेरि बनाइएको थियो ।
तीन अर्ब ४८ करोड रुपैयाँको लागतमा बनेको धरहराको निर्माण कार्य पुरै सकिएको भने छैन । भूमिगत ३ तले पार्किङ, भित्रि फिनिसिङ आदिका केही काम बाँकी नै छन् । प्रधानमन्त्री ओलीले उद्घाटनमा हतारो देखाएको कतिपयको आरोप पनि छ । KTM र nayapage सहयोगमा












