Logo

कोरोना संक्रमण दर वृद्धिमा नेपाल विश्वमै पहिलो, विशेषज्ञ भन्छन्– नेपालले पनि भारतको जस्तै मोड लिनेवाला छ

                     
Logo १६ बैशाख २०७८, बिहीबार १२:०९    

काठमाडौं - कोरोना भाइरस संक्रमणको दर फैलने पहिलो नम्बरमा नेपाल रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा संक्रामक रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठले विश्वका सबै देशभन्दा नेपालमा छिटो गतिमा संक्रमण फैलिरहेको बताउनुभएको हो । उहाँका अनुसार पछिल्लो एक हप्तामा संक्रमण दर २२८ प्रतिशतले बढेको छ । नेपाल भारतभन्दा एक महिना पछाडि थियो । तर, नेपालले पनि भारतको जस्तै मोड लिनेवाला छ ।

‘संक्रमितको संख्या मात्रै होइन, टेस्ट पोजेटिभको दर पनि बढेको छ,’ उहाँले भन्नुभयो, ‘नेपाल र भारतको तुलना गर्दा भारतको भन्दा धेरै पोजेटिभ रेट बढेको छ । नेपालमा अब भारतमा भन्दा धेरै संक्रमणको दर बढेको छ र मृत्युको संख्या पनि बढेको छ । एक वर्षमा जति संक्रमित देख्यौं, यही दरमा बढ्दै गएमा एक वर्षमा देखेको संक्रमितको संख्या अबको तीन महिनाभित्रमा नै देख्नेछौं ।’

यही गतिमा संक्रमणको दर बढ्दै गएमा दैनिक १५० जना गुमाउने अवस्थामा नेपाल पुगेको उहाँले बताउनुभयो । ‘हामी गम्भीर परिस्थितिमा आइपुगेका छौं,’ उहाँले भन्नुभयो ।

यस्तै, बुधबार थप चार हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १३ हजार ८७९ पिसिआर र ९८८ एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणको नतिजामा कुल चार हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या तीन लाख १२ हजार ८२२ पुगेको छ । यीमध्ये ३० हजार २०९ जना सक्रिय संक्रमित छन् । बुधबार काठमाडौंमा एक हजार ४६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ जना गरी उपत्यकामा दुई हजार ४७ जना संक्रमित थपिएका छन् ।

यस्तै, बुधबार इलाममा तीन, उदयपुरमा दुई, खोटाङमा दुई, ओखलढुंगामा एक, झापामा ४०, ताप्लेजुङमा १३, धनकुटामा एक, मोरङमा १२८, सुनसरीमा ४९, धनुषामा ५३, पर्सा १२३, बारामा ४१, महोत्तरीमा १७, रौतहटमा २३, सप्तरीमा सात, सर्लाहीमा १० र सिरहामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, काभ्रेपलाञ्चोकमा ५०, चितवनमा १४७, दोलखामा ६, धादिङमा २२, नुवाकोटमा २५, मकवानपुरमा चार, रसुवामा एक, रामेछाप आठ, सिन्धुपाल्चोकमा १७, सिन्धुलीमा आठ, कास्कीमा १८२, गोरखामा ६१, तनहुँमा १५, नवलपरासी पूर्वमा १८, पर्वतमा ११, मुस्ताङमा एक, म्याग्दीमा १३, लमजुङमा एक, बागलुङमा २१ र स्याङजामा २१ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, अर्घाखाँचीमा २०, कपिलवस्तुमा ४६, गुल्मीमा १८, दाङमा १८०, नवलपरासीमा २८, पाल्पामा २८, प्युठानमा आठ, बर्दियामा २८, बाँकेमा ३२८, रुकुम पूर्वमा पाँच, रूपन्देहीमा ४३४, रोल्पामा नौ, कालिकोटमा पाँच, जाजरकोटमा आठ, जुम्लामा आठ, डोल्पामा एक, दैलेखमा पाँच, मुगुमा दुई, रुकुम पश्चिममा तीन, सल्यानमा पाँच, सुर्खेतमा १३२,अछाममा दुई, कञ्चनपुरमा २४, कैलालीमा १९४, डडेल्धुरामा १२, डोटी दुई, दार्चुलामा एक, बझाङमा दुई, बाजुरामा एक र बैतडीमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

संक्रमितहरूमध्ये देशभरका विभिन्न अस्पतलाको आइसियूमा ३१७ जना र भेन्टिलेटरमा ९७ जना उपचाररत छन् । यस्तै, पछिल्लो समय थप ७७३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या दुई लाख ७९ हजार २७९ पुगेको छ । निको हुने दर ८९।३ प्रतिशत छ ।

यस्तै, बुधबार थप १७ जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार योसँगै हालसम्म मृत्यु हुने संक्रमितको संख्या तीन हजार २११ पुगेको छ ।

कोरोना संक्रमण तीव्र रूपमा बढ्न थालेपछि सरकारले आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । यस्तै, देशका विभिन्न भागमा पनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका छन् । hita


लोकप्रिय छुटाउनुभयो कि ?