जिल्ला प्रशासन कार्यालय सुनसरीले राष्ट्र बैङ्कको सूचनालाई आधार मानी लघुबित्त तथा सहकारीलाई कोरोना महामारीको यो परिस्थितिमा किस्ता नउठाउन आग्रह गरेको छ । राष्ट्र बैङ्कले पनि आफ्नो मानवता प्रदर्शन गर्न भन्दै लकडाउनमा घर–घर गएर किस्ता नउठाउन भनेको छ ।


तर, सुनसरीको देवानगञ्जमा भने लघुबित्तका कर्मचारीले मानवता देखाउनुको साटो दादागिरी देखाएका छन् । किस्ता नतिरेको भन्दै फरवार्ड लघुबित्तका दुई कर्मचारी मिलेर ऋणी महिलामाथि निर्घात कुटपिट गरेका छन् ।
देवानगञ्ज गाउँपालिका–६ की फूलकुमारी मेहतामाथि फरवार्ड लघुवित्त संस्थाका २ जना कर्मचारीहरूले कुटपिट गरेका हुन् । सोमबार घरमा एक्लै बसेका बेला फरवार्ड लघुवित्त संस्थाको ऋण चुक्ता टोली आएर आफूमाथि निर्घात कुटपिट गरेको फूलकुमारीले जानकारी दिएकी छन् ।

‘हाम्रो वडाका सम्पूर्ण ऋणी सदस्यको भेला हुने दिन थियो । तर कोरोनाका कारण कोही भेला भएनन् । यसैले घरमा बसेकी थिएँ । मैले ऋण लिए पनि कोरोनाका कारण आउने बाटो सबै बन्द भएकोले तिर्न सकेको थिइनँ । यस्तैमा २ जना कर्मचारी घरमै आएर मलाई कुटपिट गरे’, फूलकुमारीले भनिन् ।
फूलकुमारीको खुट्टामा चोट लागेको छ । घाइते उनको देवानगञ्ज–२ स्थित माँ काली पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
उक्त संस्थाका कर्मचारी भागेश्वर माझी र मिथलेश खवासले दिउँसो तीन बजे घरमै आएर आफूमाथि कुटपिट गरेको फूलकुमारीको भनाइ छ । दोस्रो लहरको बढ्दो कोरोना भाइरसका कारण सुनसरी जिल्लाभरि जारी भएको निषेधाज्ञाका कारण कमाउने बाटो सबै बन्द भएको उल्लेख गर्दै उनले यस्तो कठिन परिस्थतिमा पनि लघुबित्तले आफ्नो मर्म नबुझेको उनले दुखेसो गरिन् ।
उनीहरूले मादक पदार्थ सेवन गरी आफूमाथि हातपात गरेको फूलकुमारीको आरोप छ । ‘उहाँहरूले आजको किस्ता तिर् भन्दै हप्काउनुभो,’ उनले भनिन्, ‘यस्तो महामारीमा किस्ता तिर्न सकेको छैन, विस्तारै तिर्छु, हात–मुख जोर्न पनि समस्या भइरहेको छ भन्दा घरमा कोही नभएको मौका छोपेर सडकमा घिसार्दै लातै–लातले ममाथि कुटपिट गरे ।’
उनीहरूलाई इलाका प्रहरी कार्यालय देवानगञ्जले पक्राउ गरेको छ । कुटपिट गर्नेहरूलाई जिल्लामा बुझाउने तयारी भइरहेको इप्रका देवानगञ्जका असई सुरमणि मगरले बताए ।
यता, जिल्ला प्रशासन सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले त्यस्तो गतिविधि गर्नेलाई कारवाही गर्ने बताएका छन् । ‘राष्ट्र बैङ्कको सूचनालाई आधार मानेर हामीले निषेधाज्ञाको समयमा किस्ता नउठाउन र आफ्नो मानवता प्रदर्शन गर्न सबै लघुबित्त र सहकारीलाई आग्रह गरेका थियौँ । हाम्रो अनुरोधविपरीत जानेलाई कारवाही हुन्छ,’ उनले भने ।
यसैगरी जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।केटिएम दैनिकसँग












