Logo

कोरोना पुष्टि भएकी गर्भवती पत्निलाई छोडेर फरार भए पति

                     
Logo ५ जेष्ठ २०७८, बुधबार १६:२९    

झापामा कोरोना सङ्क्रमण पुष्टि भएकी पत्निलाई छोडेर पति फरार भएका छन् । झापाको मेचीनगर–१३ चारआली बजारमा कोरोनाका कारण सिकिस्त अवस्थामा रहेकी पत्निलाई छोडेर पति फरार भएका हुन् ।

चारआली बजारमा भाडामा बस्दै आएका रिजाल थरका पतिले आफ्नी चार–पाँच महिनाकी गर्भवती पत्निलाई छोडेर फरार भएको नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिइन् । उनका अनुसार ती १९ वर्षीय युवतीलाई मङ्गलबार विराटनगरस्थित कोसी अस्पतालमा पिसिआर जाँच गर्दा कोरोना पुष्टि भएको थियो ।

त्यहाँ बेडको अभाव भएपछि घर फर्किएपछि घरबेटीले समेत बस्न नदिएपछि पतिले उनलाई मङ्गलबार साँझ चारआलीस्थित आइतबारे बजारको टहरामा बेवारिसे अवस्थामा छाडेर फरार भएको उपप्रमुख उप्रेतीले जानकारी दिइन् ।

उप्रेतीका अनुसार उनका पति बसको सहचालक हुन् । पतिले बेवारिसे अवस्थामा छोडेपछि सिकिस्त अवस्थामा रहेकी उनलाई मेचीनगर १३ का वडा अध्यक्ष कृष्णराज सिग्देल नगरपालिकाको एम्बुलेन्समा हालेर आइसोलेसन पु¥याएका थिए । तर गर्भवती अवस्थामा रहेकोले ज्यानको जोखिम हुने भन्दै उपप्रमुख उप्रेतीले भद्रपुर अस्पताल लैजान सुझाएकी थिइन् ।

त्यसपछि नगरपालिकाले नै उनको अभिभावक खोजी गरेको थियो । वडा नं १३ मै उनको माइती रहेकाले माइती पक्षसँगको समन्वयमा नगरपालिकाको एम्बुलेन्समार्फत नै भद्रपुर अस्पताल लगिएको उपप्रमुखले जानकारी दिइन् ।

‘नगरपालिकाको आइसोलेसनमा नर्मल प्रकृतिका कोभिड सङ्क्रमितको उपचार हुन्छ’, उनले केटिएम दैनिकसँग भनिन्, ‘उहाँको अवस्थामा गम्भीर थियो । फेरि दुई जिउकी भएका कारण ज्यानको जोखिम हुने डरले भद्रपुर अस्पताल पठाइएको हो । उहाँका पतिको खबर पाइएको छैन ।’ उनी किन भागे भन्ने यकिन गर्न नसकिएको उपप्रमुख उप्रेतीले जानकारी दिइन् ।

हाल नगरपालिकाकाले ११ नम्बर वडामा ३१ बेडको आइसोलेसन सञ्चालन गरिरहेको छ । नगरपालिकासँग ३४ वटा ठूला तथा १०० वटा साना गरी १३५ वडा अक्सिजन सिलेन्डर उपलब्ध छ ।

नगरपालिकामा मङ्गबार साँझसम्मको तथ्याङ्कअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ३५० रहेको छ । नगरपालिकामा दोस्रो लहरको कोरोना महामारीका कारण हालसम्म ८ जनाको मृत्यु भइसकेको छ ।केटीएम दैनिक


लोकप्रिय छुटाउनुभयो कि ?