विराटनगर ।


मोरङको सुन्दरहरैँचामा सुतेकै ठाउँमा घाँटी काटेर हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
सुन्दरहरैँचा–३ लोचनीका ४० वर्षीय विष्णु ऋषिदेवको शव शुक्रबार बिहान फेला परेको हो ।धारिलो हतियारले अघिल्लोपटिको घाँटी काटिएको अवस्थामा मजदूरी काम गर्दै आएका ऋषिदेवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

उनका अनुसार गछिया खोला छेउको ऐलानी जग्गामा टिनको छानो भएको र टाटीको बेरा लगाएर बनाइएको झुप्रो घरमा एक्लै बस्दै आएका ऋषिदेव बिहीबार बेलुका ८ बजेतिर आफ्ना भाइ अपोलो ऋषिदेवको घरमा खाना खाई घर आएर सुतेका थिए ।
पत्निको मृत्यु भइसकेको र छोराछोरी पनि घरभन्दा बाहिर नै बस्ने गरेका कारण विष्णु एक्लै बस्थे । सधैँ खाना भने आफ्ना भाइको घरमा खान्थे र सुत्नका लागि घर नै फर्किन्थे । बिहान ६ बजेतिर सँगै मजदूरी गर्ने साथी राजकुमार चौधरीले बोलाउन जाँदा नबोलेपछि भित्र गएर हेर्दा विभत्स अवस्थामा उनको शव फेला परेको थियो । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
‘प्रहरीको टोली पुग्दा घरभित्र खाटमा लगाइएको ओछ्यानमा लडिरहेको अवस्थामा शव भेटिएको थियो’, डिएसपी राईका अनुसार, ‘घरमा कोही पनि नभएका कारण उनको हत्या भएको अनुमान छ ।
उनका अनुसार पूरै शरीर कपडाविहीन रहेका मृतकले कम्मरमुनि कट्टु भने लगाएका छन् । राईले रगताम्ये र मृतकको शरीर तथा वरपर रगत लतपतिएको अवस्थामा घटनास्थल रहेको जानकारी दिए । राईले घटनामा संलग्नको पहिचानको प्रयास भइरहेको र गम्भीर ढङ्गले अनुसन्धान अघि बढाइएको जानकारी दिए । उनका अनुसार घटनास्थलमा हत्यामा प्रयोग गरिएको कुनै हतियार फेला परेको छैन ।












