Logo

भेरी अस्पतालमा स्वास्थ्यकर्मी कुटपिट र दुर्व्यवहारको आरोपमा तीन जना पक्राउ

                     
Logo १४ जेष्ठ २०७८, शुक्रबार १३:४१    

भेरी अस्पतालमा हिजो राती भएको कुटपिट र दुर्व्यवहारमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले कुटपिटमा संलग्न तीन जनालाई पक्राउ गरेको बताएको छ ।

गएराति ८ बजेतिर बिरामीको उपचारका क्रममा ज्यान गएपछि मृतकका परिवार र आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए । स्वास्थ्यकर्मीले झ्यालबाट हाम फालेर ज्यान जोगाएका अस्पतालका मेसु डाक्टर प्रकाश थापाले जानकारी दिए ।

डाक्टर चन्द्रप्रकाश साहु, नर्स सदीक्षा गैरे, अश्विनी गुरुङ, रिता अधिकारी र कविता पुनमाथि कुटपिट र दुर्व्यवहार भएको उनले बताए ।

कुटपिट र दुर्व्यवहारको विरोध गर्दै भेरी अस्पताल नेपालगञ्जका डाक्टर र स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । भेरी अस्पताल परिसरमा बिहानैदेखि स्वास्थ्यकर्मीले नाराजुलुस गरिरहेका छन् ।

कोभिडका बिरामीको क्षमताभन्दा बढी सङ्ख्यामा उपचार गर्दै आएको भेरीमा यसअघि पनि डाक्टर स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको थियो । घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको छ ।

लाठी चार्जसहित मृतकका आफन्त आक्रमण गर्न आएपछि डाक्टर र नर्सले एक तलामाथिको झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए। शुक्रवार प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीले ‘के स्वास्थ्यकर्मीले सधैँ कुटाई नै खाने होरु’, ‘नो सेक्युरिटी, नो वर्क’ जस्ता नारा लगाउँदै सङ्क्रमितको उपचारमा खटिएका महामारीमा खटिएका स्वास्थ्यकर्मीको मनोबल खसाउने खालका क्रियाकलाप बन्द गर्न माग गरेका छन्।

अस्पतालकी नर्सिङ अधिकृत ईश्वरी केसीले अन्धाधुन्ध रूपमा तोडफोड र हातपात हुन थालेपछि चिकित्सकसहित स्टाफ नर्स काम छोडेर भाग्नु परेको बताउँदै त्रासको अवस्थामा स्वास्थ्यकर्मीले काम गर्न नसक्ने बताइन्।


लोकप्रिय छुटाउनुभयो कि ?